‘बा: एक योद्धा’ को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ। सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा धार्मिक विधिपूर्वक स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन थालिएको हो। नेपाली संगीत क्षेत्रमा स्थापित नामका रूपमा चिनिएका संगीतकार हरि लम्साल यस फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका छन्। लामो समयदेखि संगीत सिर्जनामा सक्रिय रहेका उनले अब फिल्म निर्देशनतर्फ पाइला चाल्दै नयाँ यात्रा सुरु गरेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सार्वजनिक पोस्टर र शीर्षकले यो एक शुद्ध सामाजिक कथावस्तुमा आधारित फिल्म हुने संकेत गर्छ। फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहनेछ भने निर्माता वसन्त लम्साल रहेका छन्। गायक तथा सर्जकसमेत रहेका निर्माता लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर फिल्म ‘कर्मा’ निर्माण गरिसकेका छन्।
छायांकन सुरु भए पनि निर्माण पक्षले फिल्मका कलाकारको नाम भने सार्वजनिक गरेको छैन। प्रचार रणनीतिअनुसार कलाकारलाई गोप्य राखिएको बताइएको छ। फिल्ममा नयाँ र पुराना चर्चित कलाकारहरूको अभिनय रहने निर्माण पक्षको भनाइ छ।










