टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी पहिलो पटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । उनीहरूले फिल्म ‘बेहुली’मा जोडी बाँध्ने निश्चित भएको हो। बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन भने यही साताबाट सुरु गरिनेछ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्ने फिल्मलाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन्। यो उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले ‘होस्टेल अगेन’ र ‘बाउ भर्सेस छोरा’ निर्माण गर्ने घोषणा गरेका थिए। तर, ती दुवै प्रोजेक्टलाई केही समयपछि गर्ने निर्णय गर्दै अहिले ‘बेहुली’लाई प्राथमिकता दिएका हुन्।
फिल्ममा संगीतकार तथा गायक अर्जुन पोखरेल प्रस्तुतकर्ताका रूपमा रहेका छन्। दुई दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय पोखरेलले यही फिल्मबाट निर्माणमा प्रवेश गर्न लागेका हुन्। फिल्मका गीतहरू पनि उनले नै तयार गर्नेछन्। प्रताप राणा निर्माता रहेको फिल्मको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन्। माधवले यसअघि ‘होस्टेल ३’को स्क्रिप्ट पनि लेखेका थिए।
आगामी वर्षको हरितालिका तीजको अवसर पारेर भदौ १२ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहनेछ। सुशान्त कार्की भने यही फिल्ममार्फत पाँच वर्षपछि अभिनयमा फर्किन लागेका हुन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्। सुमन थिङ तामाङ कार्यकारी निर्माता रहेका छन् भने दुर्गा खरेल र रमेश सिलवाल सह–निर्माताका रूपमा छन्। शंकर कोइराला क्रिएटिभ प्रोड्युसर रहेको फिल्मलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहनेछ। फिल्मको पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्ने जनाइएको छ।










