आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतमा गायक प्रकाश सपूत र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। गीतको शब्द तथा संगीत पनि स्वयं प्रकाश सपूतले नै सिर्जना गरेका हुन्।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत र सुहाना थापालाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको छ। दम्पतीको भूमिकामा देखिएका उनीहरू घाँस-दाउरा गर्ने, चुलोचौको सम्हाल्ने र खेतीपातीमा व्यस्त जीवन बिताइरहेको दृश्यमा देखिन्छन्। यिनै दैनिक कामकाजबीच उनीहरूको प्रेमभाव र एकअर्काप्रति गरेको वाचालाई गीतमार्फत देखाइएको छ। भिडियोमा दुवैले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश र सुहानासँगै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुलबहादुर अधिकारी र मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता सुशील पोखरेल हुन् भने सुशील देवकोटाले पटकथा तथा संवाद लेखेका छन्।

आधुनिक कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा समेटिएको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ति ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ। ग्रामीण जीवनशैली र प्रेमभावलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले फिल्मप्रति दर्शकको चासो झनै बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया