भारतीय सङ्गीत क्षेत्रकी प्रतिष्ठित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो। प्रारम्भिक रूपमा हृदयाघात (कार्डियाक अरेस्ट) भएको जानकारी आए पनि पछि उनकी नातिनी जनाई भोसलेले सामान्य थकान तथा छातीसम्बन्धी समस्या मात्र भएको स्पष्ट पारेकी थिइन्।

१२ हजारभन्दा बढी गीतमा स्वर दिएकी भोसले भारतीय सङ्गीत इतिहासकी अत्यन्तै बहुआयामिक तथा प्रभावशाली गायिकामध्ये एक मानिन्छिन्। ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’, ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू अत्यन्त लोकप्रिय छन्। नेपाली गीतहरूमा पनि उनको योगदान उल्लेखनीय रहेको छ—‘मोहनी लाग्ला है’, ‘म प्यार बेचिदिन्छु’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ जस्ता गीतहरूले नेपाली श्रोतामाझ विशेष स्थान बनाएका छन्।

उनी प्रसिद्ध गायक दिन्नानाथ मङेसर की छोरी तथा चर्चित गायिका लाता मङेसर की कान्छी बहिनी हुन्। सानै उमेरमा पिताको निधन भएपछि दिदीसँगै गायन आरम्भ गर्दै उनले परिवारलाई सहयोग पुर्‍याएकी थिइन्। १९५० र १९६० को दशकमा उनले बलिउडमा विशिष्ट पहिचान स्थापित गरिन्छ । ब्यक्ति  जिवनमा पनि उनले विविध उतारचढावको सामना गरिन्। १६ वर्षको उमेरमा गणपतराव भोसलेसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनी पछि सो सम्बन्धबाट अलग भइन्। त्यसपछि उनले प्रसिद्ध सङ्गीतकार R. D. Burmanसँग दोस्रो विवाह गरिन्, जसले उनको सांगीतिक यात्रामा नयाँ उचाइ थप्यो।

हिन्दी, बंगाली, मराठी लगायत २० भन्दा बढी भाषामा गीत गाएकी भोसलेले अभिनय क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाएकी थिइन्। सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘माई’मा उनको अभिनयलाई समीक्षकहरूले प्रशंसा गरेका थिए। उनको निधनसँगै सङ्गीतको एक स्वर्णिम अध्यायको अन्त्य भएको अनुभूति गरिएको छ। तथापि, उनका अमर गीतहरू र मधुर स्वर सदा सर्वदा श्रोताको हृदयमा गुञ्जिरहनेछन्।

तपाईको प्रतिक्रिया