विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’ले अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरअनुसार फिल्मको पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने निश्चित भएको छ।
आगामी मे ६ (वैशाख २३) मा जापानको ओसाका सहरस्थित ‘मिनातो कुमिन सेन्टर’मा फिल्मको भव्य प्रिमियर हुने जनाइएको छ। नेपाली फिल्मलाई विदेशी भूमिमा पहिलोपटक प्रस्तुत गर्ने तयारीले ‘बुकी’प्रति दर्शकको चासो अझ बढाएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी, सुरक्षा पन्त ट्रफी उचाल्दै विजयी मुद्रामा देखिएकी छन्, जसले फिल्मको प्रतिस्पर्धात्मक भाव र सफलताको संकेत दिन्छ। पोस्टरको पृष्ठभूमिमा भलिबल खेलिरहेको दृश्यले कथावस्तु खेलकुद, विशेषतः भलिबलसँग जोडिएको स्पष्ट पार्छ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको ‘बुकी’मा लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, निशा बजगाईं र सन्दीप बाबु लोहनीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ। काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा छायांकन गरिएको फिल्मले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्ध उजागर गर्ने प्रयास गरेको निर्माण टिमको भनाइ छ।
यसै वर्ष प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण गरिएको फिल्ममा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर र रमेश थापा निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्। विकास गन्दर्भको छायांकन, भुपेन्द्र अधिकारी र रोहन कुमालको सम्पादन, सुविन सञ्चुरीको पार्श्व संगीत तथा श्याम कुँवरको रंग संयोजनले फिल्मलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। विदेशमै प्रिमियर गरेर चर्चा बटुल्न खोजेको ‘बुकी’ अब दर्शकमाझ कस्तो प्रभाव पार्ने हो, त्यो भने प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ।










