शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म मालती मंगले ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार ललितपुरस्थित लबिम मल को क्यूएफएक्स हलमा आयोजित प्रिमियर शोमा सहभागी दर्शक तथा विशिष्ट व्यक्तिहरूले फिल्मको कथा, प्रस्तुति र अभिनयको खुलेर प्रशंसा गरेका हुन् ।
लामो समयपछि फिल्म हेर्न प्रिमियरमा पुगेका रवि लामिछाने ले फिल्म मनोरञ्जन र भावनाको राम्रो संयोजन बनेको प्रतिक्रिया दिए । उनले कलाकारहरूको अभिनय, संवाद र कथावस्तुले आफूलाई प्रभावित बनाएको बताए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ले पनि फिल्मले मनोरञ्जनसँगै सन्देश दिन सफल भएको बताए । उनका अनुसार कथावस्तु बलियो रहेको र कलाकारहरूको अभिनय प्रभावशाली रहेको छ ।
प्रिमियरमा उपस्थित अधिकांश दर्शकले अभिनेत्री वर्षा राउत को अभिनयलाई विशेष रूपमा प्रशंसा गरेका थिए । धेरैले यस फिल्मलाई उनको करिअरकै उत्कृष्ट अभिनयमध्ये एक भनेका छन् ।चर्चित गायक रामकृष्ण ढकाल को निर्माण रहेको फिल्मलाई प्रकु पाण्डेय ले निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, वर्षा राउत, प्रकाश घिमिरे, सरिता गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मले वैवाहिक सम्बन्धमा आउने उतारचढाव र भावनात्मक संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।










