गत वैशाख ११ देखि २५ गतेसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार कमाइको दौडमा फिल्म ‘परालको आगो’ सबैभन्दा अगाडि देखिएको छ भने ‘लालीबजार’ दोस्रो स्थानमा रहेको छ ।वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको ‘परालको आगो’ले शनिबारसम्म १ लाख ५१ हजार ९२८ टिकट बिक्री गर्दै ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कमाइ गरेको छ । प्रदर्शनपछि लगातार दर्शकको साथ पाइरहेको फिल्मले वैशाख महिनाको सबैभन्दा सफल व्यापार गर्ने फिल्मको रूपमा आफूलाई स्थापित गरेको देखिन्छ ।
वैशाख २५ गते रिलिज भएको ‘लालीबजार’ले पनि छोटो समयमै उल्लेखनीय व्यापार गरेको छ । बोर्डको विवरणअनुसार फिल्मले १ लाख १४ हजार ५८६ टिकट बिक्री गर्दै ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको छ । प्रदर्शनको सुरुवाती चरणमै फिल्मले बलियो ओपनिङ लिन सफल भएको देखिन्छ ।
यता, ‘लालीबजार’सँगै प्रदर्शनमा आएका ‘मालती मंगले’ र ‘गुरु आमा’ भने अपेक्षाअनुसार दर्शक तान्न सकेनन् । गायक रामकृष्ण ढकालको निर्माण रहेको ‘मालती मंगले’ले ९ दिनमा ५० लाख रुपैयाँसमेत कमाउन सकेन । फिल्मले हालसम्म १३ हजार ८९० टिकट बिक्री गर्दै ४४ लाख ७८ हजार ६०८ रुपैयाँ ग्रस कमाएको छ ।
सबैभन्दा कम व्यापार गर्ने फिल्म ‘गुरु आमा’ बनेको छ । उक्त फिल्मका जम्मा ८ हजार ९७४ टिकट बिक्री भएका छन् भने कमाइ २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रसमा सीमित रहेको छ । वैशाख महिनामा प्रदर्शनमा आएका ‘पहाड’सहित पाँच नेपाली फिल्ममध्ये ‘परालको आगो’ र ‘लालीबजार’ले मात्र सन्तोषजनक व्यापार गर्न सफल भएको देखिन्छ । बाँकी फिल्महरूले भने दर्शक हलसम्म तान्न संघर्ष गरिरहेका छन् ।










