आगामी गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म रोल नं १ ले दर्शकमाझ नयाँ शैलीमा प्रचार अभियान सुरु गरेको छ । फिल्मले आफ्नो लक्षित दर्शक विद्यार्थी तथा युवापुस्तालाई जोड्न ‘लौ सुन म भन्छु मेरो स्कुले कहानी’ शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरूले आफ्नो विद्यालय जीवनसँग जोडिएका अविस्मरणीय अनुभव भिडियोमार्फत प्रस्तुत गर्नुपर्नेछ । भिडियोमा आफ्नो परिचयसँगै विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्ने निर्माण पक्षले जनाएको छ । विद्यालयका रमाइला क्षण, शिक्षकको प्रेरणा, साथीभाइसँगको सम्बन्ध, पढाइको संघर्ष, गरिबी वा चुनौतीका कथा लगायतका विषय समेटेर भिडियो बनाउन सकिनेछ । तयार भएको भिडियो आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्नेछ ।
प्रतियोगिताका विजेतालाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, २० जनालाई सान्त्वना पुरस्कारस्वरूप फिल्मको एक–एकवटा टिकट प्रदान गरिने जनाइएको छ । विजेताको घोषणा जेठ २५ गते गरिनेछ ।
कीर्तिमानी नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गी का निर्माता विनोद पौडेल ले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई जोन योञ्जन ले निर्देशन गरेका हुन् । उनले यसअघि आँखा निर्देशन गरेका थिए ।










