चलचित्र ‘दयारानी’को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर सहित प्रर्दशन मिति पनि घोषणा गरेको हो । दयाहाङ राई र दिया पुनले जोडि बाँधेको यो चलचित्र जेठ १० बाट प्रर्दशनमा आउनेछ । पोस्टरमा चलचित्रको मुख्य पात्र दया र दिया चित्रित छन् । चलचित्रमा यि दुईलाई पति पत्नीको रुपमा देख्न पाइनेछ । एउटा अहंकार बोकेको पतिको कारण एउटी पत्नीले खेप्नुपर्ने समस्याको कथा चलचित्रमा बुनिएको छ । गुरुङ समुदायमा दयालु युवतिलाई दयारानी उपमा दिइन्छ । दिया पुनले ‘दयारानी’को भुमिका निभाउँदैछिन् ।

यसै चलचित्रबाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गर्दैछन्, माओत्से गुरुङ । गुरुङ भाषाका चलचित्रमा खरिएका उनी भन्छन्, “फेवामा पौडिरहेको मान्छे नेपाली चलचित्रको महासागरमा आइपुगेको छु । डुब्नेछु या उत्रनेछु, त्यो समयले बताउला ।” उनी यो चलचित्रले उनलाई सिनेनगरीमा स्थापित गराउनेछ भन्ने आशामा छन् । अभिनेता दयाले चलचित्रको कथा लोभलाग्दो भएकाले अभिनय गरेको बताउँदै चलचित्रसंग आफ्नो नाम मिल्नुमा संयोग मात्र भएको प्रष्टाए ।

माओत्से फिल्मस्को ब्यानरमा सिनेमा आर्टस्को प्रस्तुति चलचित्र ‘दयारानी’को कार्यकारी निर्माताका रुपमा निर्देशकद्धय रामबाबु गुरुङ र अपिल विष्ट रहेका छन् । चलचित्र मोहन गुरुङ, धनबहादुर गुरुङ, केन्द्र लिम्बु र न्यु आइटि भेन्चरको सहकार्यमा निर्माण भएको हो ।

चलचित्र ‘दयारानी’मा दया र दियाका अलावा बिजय बराल, सुर्य सुनवार, प्रमिसा गुरुङ, राजेन्द्र थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । राजनराज शिवाकोटि र बिनोद बानियाँको संगीत, बिक्रम स्वाँरको कोरियोग्राफी शैलेन्द डि कार्कीको छायाङ्कनका साथमा नेमिष श्रेष्ठ र राजन कुँवरको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया