काठमाडौं । लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २३ बैशाखमा काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ।
शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो।
यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ। कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ।
फियाक केही समययता दुवै मिगौला रोगबाट पीडित रहेका छन्। चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाले ‘केःसाङला’ निर्माण टिमको निर्णयलाई प्रशंसनीय भन्दै धन्यवाद दिए।
उनले भने, ‘एउटा आदिवासी फिल्म बनाउन र प्रदर्शन गर्नु आफैमा गाह्रो काम हो। तैमाथि त्यस फिल्मबाट रकम उठाएर सामाजिक सेवा गर्नु सह्रानीय कार्य हो।’
त्यस्तै, कार्यक्रममा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी फिल्म निर्माण गर्नु चुनौती रहेको बताए। उनले ‘केःसाङला’का निर्देशक लोकेन साँवा लिम्बू सुरुबाटै आफ्नो भाषा र कलाप्रति सजग रहँदै आएको भन्दै उनको कार्यको प्रशंसा गरे ।
लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ। साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ।
फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ।
फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ।