काठमाडौं। लोकदोहोरी गायनमा चर्चित छिन् राधिका हमाल। उनले कयौं हिट गीत स्रोतालाई दिएकी छिन्। तर, यहाँ उनीसँग गीतसंगीतबारे कुरा गरिएको छैन। गीत रेकर्ड र कार्यक्रममा ब्यस्त भइरहने राधिका नेपाली फिल्मबारे कत्तिको जानकार छिन्? फिल्म हेर्ने फुर्सद कत्तिको पाउँछिन्? त्यसबारे बुझ्ने प्रयास गरिएको छ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?
फिल्महरु हेरिरहेकी हुन्छु । मलाई फिल्म हेर्न मनपर्छ ।

कुन फिल्म बढी हेर्नुहुन्छ ?
फिल्म रमाइलोका लागि हेर्ने हो । नेपाली, हिन्दी, अंग्रेजी भन्ने छैन्। म जुनसुकै फिल्म हेर्छु। अंग्रेजी फिल्म अलि बढी हेरिरहेकी हुन्छु । नेपाली र हिन्दी पनि हेर्छु ।

घरमै हेर्नुहुन्छ की फिल्म हेर्न हलसम्म पनि पुग्नुहुन्छ ?
फिल्म हेर्ने भनेर कहिल्यै पनि पहिल्यैदेखि समय छुटाउँदिन्। फुर्सद मिल्नासाथ हेर्ने हो। कहिले घरमा त कहिले हलमा पुगेर फिल्म हेरिरहेकी हुन्छु।

पहिलोपटक हेरेको फिल्मको सम्झना छ ?
पहिलोपटक हिन्दी फिल्म हेरेकी थिए । सानैमा हेरेको हुनाले नाम याद छैन् । तर त्यो फिल्मको नायक धर्मेन्द्र भनेर ममीले भन्नुभएको थियो ।

अनि नेपाली फिल्म नी ?
नेपाली चाँही अलि बुझ्ने भएपछि हेरेको थिए । पहिलोपटक हेरेको नेपाली फिल्म ‘देउकी’ हो । त्यो फिल्म मलाइ अत्यन्तै राम्रो लागेको थियो ।

फिल्म हेर्नु/नहेर्ने छनोट गर्ने आधार चाँही के हो ?
कार्यक्रम, रेकर्डिङतिर ब्यस्त हुनुपर्नै हुनाले फिल्मबारे म त्यति जानकार हुँदिन्। त्यसैले प्रदर्शनमा आइसकेपछि सञ्चार क्षेत्र वा नजिकका साथी भाइबाट फिल्मका बारेमा आएका रेस्पोन्स बुझिसकेपछि मात्र मेरो निर्णय हुन्छ । राम्रो रेस्पोन्स पाएका प्रायः फिल्म हेर्छु ।

अनि पछिल्लो पटक कुन नेपाली फिल्म हेर्नुभयो ?
पछिल्लो पटक ‘जात्रै जात्रा’ हेरेँ । रवीन्द्र जी साथी हुनुहुन्छ । साथीको नाताले हेर्न गएकी थिए । तर, फिल्म अत्यन्तै मनपर्यो ।

तपाइँलाई कस्तो फिल्म मन पर्छ ?
मलाइ यस्तो, त्यस्तो भन्ने छैन्। मनोरञ्जनका लागि हेर्ने हो। मलाइ कमेडी फिल्म बढी मन पर्छ । जुन फिल्मले हँसाएको होस् । त्यस्ता फिल्म हेर्दा ‘इन्जोय’ महशुस गर्छु।

फिल्म हेरेर कहिल्यै रुनुभएको छ ?
साथीहरु फिल्म हेर्दा भावकु हुनुहुन्छ । कोहीले आँशु नि झार्नुहुन्छ । तर, म फिल्म हेर्दा यो कथा हो भन्ने भावले हेर्छु । त्यसैले अहिलेसम्म फिल्म हेर्दा मेरो आँखाबाट आँशु आएको छैन्।

नेपालमा मनपर्ने नायक–नायिका को–को हुनुहुन्छ ?
मलाइ प्रायः मनपर्छ। शुरुमा ‘देउकी’ हेरेको भएर होला मौसमी मल्ल र राजेश हमाल बढी मनपर्छ। राजेश सरसँग त स्वदेश विदेशका कार्यक्रममा सँगै हुन्छौं कार्यक्रममा उहाँसँग हिँडन पाउँदा पनि गौरव लाग्छ।

फिल्ममा अभिनय गर्ने रुचि त जागेन् ?
अहँ। एक दुई पटक त सहायक रोलका लागि कुरा पनि आएको थियो । तर, मलाइ सानैदेखि गायन असाध्यै मनपर्ने हुनाले अभिनयमा त्यति रुचि नै लागेन्।

अनि फिल्ममा गीत गाउने ईच्छा त होला नी ?
मैले ठूलो फिल्ममा नगाएपनि सानो फिल्महरुमा गीत गाएको छु । पछिल्ला वर्ष ठूलो फिल्ममा लोक लयका गीतहरुले स्थान पाउँदै आएका छन्। स्थान मात्र होइन् लोक लय समावेश फिल्म सफल पनि छन् । त्यो हामी लोक कलाकारहरुको लागि गौरवको कुरा हो।

मलाई एक–दुई पटक ठूलो फिल्ममा गाउने अवसर आएको थियो। तर म कार्यक्रमको शिलशिलामा विदेश भएको हुनाले गाउँन पाइन् । फिल्ममा चाँडै गीत गाउन सक्छु । हेरौं के हुन्छ ।

प्रस्तुती : सुशील नेपाल

तपाईको प्रतिक्रिया