काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत चार हजार धरौटी बुझाएर रिहा भएकी छन् । मंगलबार भएको थुनछेक बहसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिए । त्यसपछि सो आदेशअनुसार धरौटी बुझाएर आस्था रिहा भएकी हुन् ।

यही माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठसँगको भनाभन र त्यसपछि फेसबुकमार्फत आस्थाले दिएको अभिव्यक्तिले उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् । आस्थाविरुद्ध प्रहरी जवान रमिताले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालउ काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि भारतमा रहेकी आस्था आइतबार स्वदेश आएपछि सोमबार प्रहरी परिसर काठमाडौंमा आफैं उपस्थित भएकी थिइन् । तत् पश्चात सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो ।

यसको चौतर्फी आलोचना भएपछि मंगलबार प्रहरीले आफ्नो रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए । प्रहरीको रायसहितको प्रतिवेदन पाएपछि सरकारी वकिलले उनीविरुद्ध मंगलबार अभिय पत्र दायर गरेपछि भएको थुनछेक बहसपछि प्रशासनले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया