काठमाडौं। नेपाली चलचित्र ‘हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने भएको छ।

गत साउनमा नेपालमा प्रदर्शनमा आएको चलचित्र मार्च १३ अर्थात यही शुक्रबारदेखि भारतमा प्रदर्शन हुन लागेको हो। सोमवार कालिम्पुङमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए।

मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि चलचित्र हेर्न आग्रह गरिन्। अभिनेता आर्यनले दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी क्षेत्रमा बसोबास गर्ने नेपालीबासीलाई चलचित्र मनपर्नेमा आफू आशावादी रहेको बताए। त्यस्तै, अभिनेता अखिलेषले चलचित्रमा आफूले निभाएको भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे। यो उनी अभिनीत पहिलो चलचित्र हो। अरुणले चलचित्रको बजार रहेकोले चलचित्रले माया पाउनेमा विश्वास व्यक्त गरे।

चलचित्रको छायांकन सिक्किम र दार्जिलिङको रमणीय दृश्यमा गरिएको छ भने एमजी रोडमा छायांकन गरिएको गीत ‘एमजी रोडैमा’ त्यहाँ लोकप्रिय भईसकेको छ।

विकासराज आचार्य निर्देशित लभस्टोरी चलचित्र ‘हजार जुनीसम्म’मा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौड्याल लगायतका कलाकारहरु पनि अभिनय छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन्। चलचित्रले नेपालमा भने कमजोर ब्यापार गरेको थियो।

तपाईको प्रतिक्रिया