काठमाडौँ — नेपालमा आज कोरोना संक्रमितको संख्या तीन पुग्यो । उपचार भएकाको संख्या एक । कोरोना पुग्न बाँकी रहेको देश मध्ये मालीमा पनि आजै दुईजनामा देखियो ।
कोभिड– १९ को यो विश्व यात्राले एक फन्को पूरै मारेको छ।
सात दिने लकडाउनका लागि दिनको एउटाको दरले ७ एसियाली देशका ७ फिल्मका सिफारिसको दोस्रो श्रृखंलामा आज म जापानको फिल्मको सिफारिस गर्दैछु।
हिजो सिफारिस गरेको चिनियाँ फिल्म ‘फ्लावर्स अफ वार’ का निर्देशक च्याङ यिमाउ यो पुस्ताकै एक महान् निर्देशक हुन्। उनलाई गत वर्षको बर्लिन फिल्म फेस्टिभलमा भेट्ने मौका मेरो हातबाट फुस्किएको थियो। उनको फिल्म ६९ औं बर्लिन फेस्टिभलको एक प्रमुख फिल्म थियो। तर, प्रिमियरका लागि मिती तोकिएको चार दिनअघि चिनियाँ सेन्सरले यो फिल्म पास गरेन। र, उनी बर्लिन आएनन्। त्यो फिल्म अहिलेसम्म पनि रिलिज भएको छैन।
आज सिफारिस गर्न लागेको जापानी फिल्मका निर्देशक भने यसपालीको बर्लिन फेस्टिभलमा आए। उनको अन्तर्वार्ता गर्न नपाए पनि भेट्न र झन्डै डेढ घन्टा लामो संवाद सुन्न मैले पाएँ। त्यो संवाद पनि कोसँग? ताइवानका हलिउड निर्देशक आङ लीसँग। जसले ‘ब्रोकब्याक माउन्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्मबनाएका छन्।
यी जापानी हुन्, हिरोकाजु कोरेइदा।
नासाले बेलाबेला नयाँ तारा भेट्टाएजस्तो हामी बेलाबेला कुनै यस्ता निर्देशक भेट्टाउँछौं, जसको फिल्मोग्राफी नवग्रहको मालाजस्तै हुन्छ। कोरेइदा पनि त्यस्तै निर्देशक हुन्। सन् २००८ मा जापानी फिल्म ‘डिपाचर्स’ले विदेशी भाषाको ओस्कर जितेपछि जापानी फिल्म फेरि ‘फर्म’मा आए। कुनैबेला जापानका अकिरो कुरोसावालाई फिल्म बनाउन पैसाको समस्या भयो भन्दा मार्टिन स्कोरसेजी र स्टिवन स्पिलवर्गले निर्माता बनिदिन्थे। जापानको शान त्यस्तो थियो।
हिरोकाजु ‘डिपार्चर्स’ भन्दा धेरै अघिका निर्देशक हुन्। उनले पहिलो फिल्म ३० वर्षअघि बनाएका थिए। १९९५ को ‘माबोरोसी’पछि उनलाई धेरैले चिन्न थालिसकेका थिए। त्यसपछिको फिल्म ‘आफ्टर लाइफ’ले चाहिँ उनलाई स्टार बनाइदिएको थियो।
यसपाली बर्लिनमा आङ लीको रोजाइमा हिरोकाजुको ‘आफ्टर लाइफ’ देखाइएको थियो। एक साताभित्रमा निधन भएका केही मानिसहरु चित्रगुप्तको अफिसजस्तो कुनै कार्यालयमा पुगेका छन्, जहाँ उनीहरुलाई आफ्नो जीवनको सबभन्दा सुन्दर क्षण छान्न लगाइन्छ। र, उनीहरुलाई भनिन्छ– आइन्दा तपाईंका सबै स्मृतिहरु मेटिने छन्, यही एउटामात्रै रहनेछ।
७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म
तपाईंले त्यसरी छान्नु पर्यो भने आफ्नो जीवनको कुन क्षण छान्नुहुन्छ?
आजको फिल्म
लाइक फादर लाइक सन (२०१३, जापान)
यो फिल्म पहिलोपटक मैले यात्रामा हेरेको थिएँ। हेडफोनको साउन्ड धेरै राम्रो थिएन। सबटाइटल पढ्नलाई स्क्रिन धेरै ठूलो थिएन। तैपनि, फिल्म छोड्न मन लागेन। दोस्रोपटक घरमा आरामले हेरेपछि बल्ल धीत मरेको थियो।
यो कथा हो, बाबुछोराको। बाबुछोरामाथि संसारमा धेरै फिल्म बनेका छन्। गीत, कविता र उपन्यास लेखिएका छन्। भूगोल र भाषा फरक भए पनि मूलत: संसारभरका मानिसको भावना उस्तै हुन्छ। त्यसैले गर्दा एउटा भाषा र भूगोलको कथाले अर्को भाषा र भूगोलको मानिसलाई छुन्छ। आखिर यो सबै भूगोलमा पुगेका मानिसहरु एउटै मूलबाट उत्पत्ति भएका पानीका भंगालाजस्ता हुन्। सबटाइटलले पात्रले बोलेको संवाद बुझाउँछ, भावना त तपाईंको आफ्नै हो। फिल्मको चरित्र वा परिस्थितिसँग त्यसले मेल खायो भनेतपाईंलाई त्यसले छुन्छ।
यस वर्ष ओस्कर जितेको कोरियन फिल्म ‘प्यारासाइट’ जस्तै कोरेइदाको ‘लाइक फादर लाइक सन’ पनि दुई परिवारको कथा हो। धनी र गरिब। एउटा सहरको आलीसान जीवनमा छ, अर्को सानो बजारको गरिबीमा। ‘प्यारासाइट’मा जस्तै यसमा पनि सन्तानप्रतिको प्रेमले यी दुई परिवारलाई जोड्छ।
एकछिनलाई सोच्नुस्– तपाईंको जीवन आफूले चाहेजस्तै सुन्दर तरिकाले चलिरहेको छ। तपाईंसँग धन र प्रेम दुवै छ। जीवनमा शान्ति छ। तपाईंले आफ्नो बच्चालाई चाहेजस्तो स्कुलमा पढाइरहनु भएको छ। र, उ तपाईंले भनेजस्तो गरी हुर्किइरहेको छ।
यस्तैमा एकदिन अस्पतालबाट तपाईंलाई फोन आउँछ, केही जरुरी कुरा छ। तपाईं जानुहुन्छ र थाहा पाउनुहुन्छ– तपाईंको बच्चा त साटिएको रहेछ। तपाईले जसमाथि यति ठूलो लगानी गर्नुभएको छ, जसमाथि तपाईंलाई गर्व छ, त्यो सन्तान अरु नै कसैको रहेछ? तपाईं के गर्नुहुन्छ?
तपाईंको आफ्नो छोरो वा छोरी चाहिँ कहाँ होला? तपाईंले यो बच्चालाई दिएकोजस्तो सुविधा के तपाईंको आफ्नो सन्तानले पाएको होला? अब तपाईं आफूले हुर्काइरहेको बच्चासँग नै खुसीसाथ बस्नुहुन्छ कि आफ्नो सन्तान खोज्न जानुहुन्छ?
अझै अर्को प्रश्न– यदि तपाईंको आफ्नो सन्तान साह्रै गएगुज्रेको हालतमा बाँचिरहेको रहेछ भने तपाईं के गर्नु होला?
‘लाइक फादर लाइक सन’ यसकै कथा हो। एउटा परिवारको कथा। मूल्य र मान्यताको कथा। धन र प्रेमको कथा।
के बच्चाका लागि तपाईंले कमाइदिने धन वा पढाइदिने स्कुल नै सबभन्दा ठूलो कुरा हो? कि अरु पनि केही कुरा छ
अभिभावकहरुको मनमै तीर हान्ने गरी हिरोकाजु प्रश्न उठाउँछन्। यो यस्तो फिल्मले हो जसले तपाईंलाई घरी उद्वेलित बनाउँछ, घरी द्रबित।
सबभन्दा ठूलो प्रश्न त फिल्ममा पछि आउँछ। यो कथामा अभिभावक मात्र छैनन्, बच्चा पनि छन्। उनीहरुलाई यो सत्य कस्तो लाग्ला? के तिनले यो सब सहन गर्न सक्लान्? ९ वा १० वर्षको कुनै बच्चा, जसले एउटा दम्पतीलाई आफ्नो संसारै ठानेर बसेको छ, एक सेकेन्डमा उनीहरुको कोही पनि होइनन् भन्ने थाहा पायो भने के गर्ला?
यी सब भावनाका कथाका लागि ‘लाइक फादर लाइक सन’ हेर्नुस्।र, हेर्नुस्– हिरोकाजु कति उम्दा तरिकाले कथा भन्छन्।
हिरोकाजु कोरेइदाले गत वर्ष बनाएको फिल्म ‘सपलिफ्टर्स’को मैले केहीअघि समीक्षा लेखेको थिएँ। यो फिल्मले गत वर्ष विश्व प्रसिद्ध कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। र, त्यस वर्ष ओस्करमा अर्न्तराष्ट्रिय फिल्मको प्रतिस्पर्धामा थियो। यो पनि अर्को उम्दा फिल्म हो।
यसको सफलतापछि ५७ वर्षीय हिरोकाजु फ्रान्सतिर लागे। जुलियट बिनोसेलाई लिएर उनले बनाएको फ्रेन्च फिल्म ‘द ट्रुथ’ पनि आइसकेको छ।
वैकल्पिक फिल्म–’लाइक समवन इन लभ’ (२०१२)
जसरी हिरोकाजुले फ्रान्स गएर जुलियट बिनोसेसँग फिल्म बनाए, इरानका महान् निर्देशक अब्बास किरुस्तामीले यो काम केही वर्ष पहिले नै गरिसकेका थिए। उनले पनि फ्रान्स पुगेर ‘सर्टीफाइड कपी’ बनाएका थिए, जसको मुख्य भूमिकामा थिइन्, जुलियट बिनोसे।
तर, यो वैकल्पिक फिल्म ‘लाइक समवन इन लभ’ भने उनले जापान पुगेर बनाएका थिए। यो जापानको कथा हो, जापानी समाज र भावनाको कथा। यसैले यसलाई जापानी फिल्मकै रुपमा यहाँ उल्लेख गरेको हुँ।
एक वृद्ध प्रोफेसर, एक सुन्दरी युवती, उसको प्रेमी र अनन्त : प्रतीक्षा। सबैलाई कुनै न कुनै कुराको प्रतीक्षा। के प्रतीक्षाको कुनै अन्त्य छ। तृसनाको कुनै अन्त्य छ?










