अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ ।

सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सोमबार (३० मार्च) नयाँ मिति तय गरेको हो ।

यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मितिअनुसार टोकियो ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म चल्ने ओलम्पिक समितिले जनाएको छ । त्यसैगरी पारालम्पिक प्रतियोगिता सन् २०२१ कै अगस्ट २४ देखि सेटेम्वर ५ सम्म हुने तय गरिएको छ ।

यसअघि टोकियो ओलम्पिक यसैवर्षको जूलाई २४ देखि अगस्ट ९ सम्म र पारालम्पिक यसैवर्षको २५ अगस्ट देखि ६ सेटेम्वरसम्म हुने गरी निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जारी गरेको वक्तव्यमा विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलाडी, दर्शक, खेल पदाधिकारी, आयोजक र सहयोगीको स्वास्थ्यलाई ध्यान दिदै प्रतियोगिता अर्को वर्षलाई सार्नुपरेको उल्लेख गरिएको छ ।

एएनआईका अनुसार प्रतियोगिता यस वर्ष आयोजना गर्न टोकियोमा तयारीका धेरै कामहरु धमाधम भैरहेका थिए । तर केही समयदेखि तयारीका ती कामहरु कोरोना भाइरसका कारण अवरुद्ध भएकाले प्रतियोगिता अर्को वर्षलाई सार्नुपर्ने वाध्यता सृजना भएको हो ।

तपाईको प्रतिक्रिया