निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा ४’को निर्माणलाई यो बर्ष स्थगित गरे । कोरोना भाइरसका कारण विश्व नै लक डाउनमा छ । लक डाउन खुलेपछि पनि चलचित्रका लागि बजार कहिले खुल्छ एकिन छैन ।

यसैले पनि दीपकराज अहिले नै चलचित्रमा महंगो लगानी गरेर जोखिम मोल्ने मुडमा छैनन् । उनले, चलचित्रको निर्माण यो बर्ष स्थगित गर्नुको अर्को कारण ओभरसिज बजार पनि हो ।

विश्व बजारमा चलचित्र नवेच्दासम्म निर्माताले उल्लेख्य कमाई गर्न सक्दैनन् । अझ, दीपकराज र उनको टिमले बनाएको चलचित्रले ओभरिजबाट ह्यान्सम रकम कमाउँदै आएका छन् । कोरोनाका कारण नेपाली चलचित्र सबैभन्दा महंगो रकममा विक्री हुने देशहरु नै समस्यामा छन् । यसमाथि, सो देशमा बस्ने नेपालीहरु अहिले नै चलचित्रका लागि समय दिने अवस्थामा नहरन सक्छन् ।

बन्दै नबनेका चलचित्रका निर्मातालाई मात्र होइन, निर्माण भैसकेका चलचित्रका निर्मातालाई पनि यही समस्याले पिरोल्न थालेको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माण टिमले २ करोड ५० लाख भन्दा बढी रकम चलचित्रमा खर्चिएको छ । तर, यो चलचित्रको विदेश राइट्स विक्री गरिएको छैन । विदेशी बजारमा कुरा चलिहरँदा कोरोनाको संक्रमण सुरु भएको थियो ।

यी बाहेक ‘प्रेमगीत ३, लक्का जवान, चपली हाइट ३, हिजो आजका कुरा’ लगायतका चलचित्रको रिलिज पनि रोकिएको छ । यी चलचित्रका निर्माताले पनि विदेश बजारबाट राम्रो रकम कमाउने अपेक्षा गरेका थिए । जुन अब तत्कालका लागि संभव छैन ।

यसैले, केही ठूला मेकरले यो बर्ष चलचित्र नै रिलिज नगर्ने निर्णय लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया