रुकुममा भएको घटनापछि नेपाली चलचित्रका कलाकारले यस बिषयमा आवाज उठाइरहेका छन् । केही कलाकारहरुले भिडियो मार्फत नै यो बिषयमा बोलेका छन् । नायक राजेश हमालले जातियताको नारा उचालेर फोहोर राजनीति भएको बताएका थिए ।

यस्तै, नायिका वर्षा सिवाकोटीले पनि यो बिषयमा भिडियामार्फत आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले, नवराज वीकको हत्या भएको भन्दै उनको प्रेमको सजाय मृत्यु हो भनेर प्रश्न गरेकी छिन् ।

उनले भनेकी छिन्–‘नवराज र उनका साथीहरुको विभिन्न सपना थियो । ती सबै सपना जातीय विभेदका कारण भेरी नदिमा बगेको छ ।’ उनले, यस्ता बिषयमा कानुन बनेपनि यो लागू नभएको उल्लेख गरेकी छिन् ।

वर्षाले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्दै आफूहरु २१ औं शताब्दीमा छौ भन्न पनि लाज लागेको उल्लेख गरेकी छिन् ।

वर्षाले मानिस मार्ने बिषयलाई कुनै कुतर्क गरेर बचाउन खोजिन्छ भने सबैलाई कारवाही हुनुपर्ने बताएकी छिन् । उनले अगाडि भनेकी छिन्–‘नेपाली चेली निर्मलाले अझै पनि न्याय पाएकी छैनन् । कतै यो घटना पनि निर्मला हत्याकाण्ड जसरी नै सेलाउने त होइन ? आशा गरौ यस्तो हुँदैन ।’

वर्षाले जातीय विभेदको बिषयमा सबै मिलेर आवाज उठाउन पनि आह्वान गरेकी छिन् ।

तपाईको प्रतिक्रिया