काठमाडौं। रुकुम पश्चिममा किशोरी प्रेमिका भगाउने क्रममा प्रेमीसहित ५ जनाको ज्यान गएको घटनाप्रसि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गरिसकेका बेला नेपाली चलचित्रका महानायक राजेश हमालले पनि यस विषयमा आफ्नो धारणा राखेका छन् । आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै महानायक हमालले हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम सजाय दिनुपर्ने बताएका छन् ।

घटनाले आफू स्तब्ध र आक्रोशित भएको बताउँदै महानायक हमालले एउटा व्यक्तिले अर्को व्यक्ति वा एउटा समुदायले अर्को समुदायलाई जात, पृष्ठभूमि र पेशाको आधारमा गालीगलौज, अपमान र अपराधिक क्रियाकलाप गर्ने अधिकार नभएको बताए । यस किसिमका व्यवहार गर्ने व्यक्ति अपराधी रहेको महानायक हमालले बताएका छन् । उनले भनेका छन् ‘अहिलेको समयमा कुनै पनि चेतनशिल नागरिकका लागि यसप्रकारको अपराधिक गतिविधि स्वीकार्य छैन । एउटा कायर र आफूमा आत्मविश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्ति वा समुदायलाई जात वा वर्गको आधारमा अपमान गर्ने प्रयास गर्छ ।’

तपाईको प्रतिक्रिया