सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बुधबार राति आएको बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा अर्वौ क्षति पुर्याएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको गोदाममा बाढी पस्दा अर्वौको क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि कुमार काफ्लेले जानकारी दिए ।

सीइओ काफ्लेका अनुसार स्टोरेज यार्डमा बाढी पस्दा त्यहाँ रहेका सम्पुअर्ण समान नदीले बगाएको छ । आयोजना स्थलमा अझै जान नसकिएकोले क्षतिको एकिन विवरण आईनसकेको तर ठुलो क्षति गरेको उनले बताए । उनले भने ‘ हाम्रो कल्भर्ट पनि बिग्रिएको छ, त्यहाँ पुग्न सकिने अवस्था छैन, पारीबाट हेर्दा गोदाममा केहि पनि देखिदैन’। उनका अनुसार बाढीले अन्य २ वटा साना स्टोर पनि बगाएको छ । केहि समान नदिमा बगेको देखिएको, केहि छरिएको अवस्थामा देखिएको र केहि सामान नदीले नै बगाएर लगेको उनले बताए ।

सीईओ काफ्लेले आयोजनाको पावर हाउस पनि माटोले पुरिएको बताए । उनले भने ‘पावर हाउस पनि पुरीएको छ तर माटो हटाएपछि त्यो पुरानै अवस्थामा आउने भएकोले त्यसमा क्षति धेरै भएको छैन ‘। आयोजनाको हेडवर्कस भने सुरक्षित रहेको उनले बताए । उनका अनुसार स्टोरका सुरक्षा गार्ड र एक जना चिनियाँ प्राविधिक बेपत्ता छन् । उनीहरुलाई बाढीले बगाएको आशंका गरिएको छ । सीइओ काफ्लेका अनुसार इलेक्ट्रो मेकानिकलतर्फको बीमा प्रिमियर इन्स्योरेन्समा गरिएको छ ।

कम्पनीले भोटेकोशी नदीमा १०२ मेगावाटको आयोजना बनाईरहेको छ ।

तपाईको प्रतिक्रिया