काठमाडौं। हिजोआज टिकटक निकै लोकप्रिय छ। म्यूजिक भिडिओदेखि स-साना भिडिओका लागि टिकटक धेरैको रोजाइमा परेको छ। यसमा अभिनय गर्दागर्दै केहीले त म्यूजिक भिडिओ तथा चलचित्रमा काम गर्ने अवसर पाउन थालेका छन्।

टिकटक सेलिब्रेटीबाट कलाकारिता क्षेत्रमा प्रवेश गर्नेहरूले नाम र दाम राम्रै कमाइरहेका छन्। टिकटक मनोरञ्जनको साधन मात्र बनेको छैन्, यो पैसा कमाउने आम्दानीको स्रोत पनि बनेको छ।

टिकटकमा ६५ लाख फलोअर रहेका जुम्ल्याह दिदीबहिनी प्रिन्सा र प्रिज्माले यसलाई आम्दानीको स्रोत बनाइरहेका छन्। म्यूजिक भिडिओ तथा अन्यमा अभिनय गरेर टिकटकमा प्रमोशनल गरेर उनीहरूले आम्दानी गर्दै आएका हुन्।

“रमाइलोको लागि टिकटक बनाउँछौं। कहिलेकाही कसैले प्रमोशन गरिदिनुपर्‍यो भन्नुहुन्छ। उनीहरूबाट निश्चित पैसा लिएर भिडिओ बनाउँछौं।” प्रिज्माले भनिन्।

यूट्यबमा सार्वजनिक भएको भिडिओमा थरीथरीका कमेन्ट आउँछन्। तीमध्ये केहीले टिकटकमा भिडिओ हेरेर पूरा गीत हेर्न आएको भन्दै कमेन्ट गर्छन्। जसले गर्दा पनि टिकटककै कारण भिडिओले राम्रो भ्यूज पाउने गरेको गायक नरेश खातीको अनुभव छ।

१५ र ६० सेकेण्डको भिडिओका लागि उनीहरूले निश्चित पारिश्रमिक तोकेका छन्। त्यही आधारमा उनीहरूले प्रमोशनल भिडिओ बनाउँछन्।

“आफूलाई राम्रो लागेको गीतमा नाच्ने त छदैंछ। कोही कोही मेरो गीतको प्रमोशन गरिदिनुपर्‍यो भनेर आउनुहुन्छ। उहाँहरूलाई भने निश्चित पैसा लिएर बनाउँछौं।” उनले भनिन्।

टिकटकमै २४ लाखभन्दा बढी फलोअर रहेको अर्को भाइरल जोडी हो- दीपा दमन्ता श्रेष्ठ। उनीहरूले पनि आफुलाई मन पर्ने भिडिओमा टिकटक बनाउँछन्। यदि कोहीबाट प्रमोशनका लागि कुरा आयो भने निश्चित पैसा लिएर भिडिओ बनाईदिन्छन्।

“टिकटकमै हामीले बनाएको भिडिओबाट उनीहरू गीत चलिरहेको हुन्छ। हाम्रै कारण चर्चामा आउँछ।” दीपाले भनिन्।

चर्चित टिकटकरहरूले एउटा प्रमोशन भिडिओका लागि १५ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेका छन्। एक संगीतकर्मीले आफ्नो भिडिओ प्रमोशनका लागि टिकटक सेलिब्रेटीलाई २० हजार दिएको बताउँछन्।

“नाम चाही नभनिदिनुहोला। मेरो भिडिओ प्रमोशनका लागि चर्चित टिकटक सेलिब्रेटहरूलाई २० हजार दिए। अन्य ठाउँमा प्रचार नै गर्नुपरेन। त्यसपछि राम्रै भ्यूज पाइयो।” उनले भने।

यूट्यबमा सार्वजनिक भएको भिडिओमा थरीथरीका कमेन्ट आउँछन्। तीमध्ये केहीले टिकटकमा भिडिओ हेरेर पूरा गीत हेर्न आएको भन्दै कमेन्ट गर्छन्। जसले गर्दा पनि टिकटककै कारण भिडिओले राम्रो भ्यूज पाउने गरेको गायक नरेश खातीको अनुभव छ।

“टिकटकमा हेरेर युट्युबमा गीत हेर्न आउँदा रहेछन्। यसमा कोहीले प्रोफेसनल रूपमा प्रमोशन गर्नुहुन्छ। कोहीले भने राम्रो लागेको आधारमा टिकटक बनाउनुहुन्छ। यसले दुवै पक्षलाई फाईदा पुग्छ।” गायक खातीले भने।

कसरी बढ्छ टिकटकबाट युट्युबमा भ्यूज ?

प्रकाश सपूतको गीत ‘बदला बरिलै’ यूट्युबको ट्रेण्डिङ नम्बरमा एकमा छ। ३१ जुलाईमा अपलोड भएको भिडिओलाई ६ अगष्टसम्म १९ लाख ८८ हजार पटक हेरिएको छ। झण्डै १३ हजार कमेन्ट आएको भिडिओ टिकटकमा पनि निकै भाइरल छ। टिकटकमा बनेको भिडिओबाटै धेरै जना यूट्युबमा आएर हेरेको प्रकाशले बताए।

भिडिओमा कमेन्ट गर्नेहरूले पनि टिकटकमा निकै मार्मिक र प्रेरणादायी लागेर यूट्युबमा हेर्न आएको लेखेकाले पनि भ्यूज बढ्न गएको उनको भनाइ छ।

राजनराज सिवाकोटी र स्मिता दाहालले गाएको मायालू तिमी कता छौ-२ लाई यूट्यबमा ५० लाख बढीले हेरेका छन्।

जुन गीत टिकटकमा पनि निकै हिट भयो। त्यसमा टिकटकमा निकै लोकप्रिय बनेकादेखि लिएर सामान्यले पनि भिडिओ बनाए। त्यही हेरेर पनि धेरैले यूट्युबतिर आएको देखिन्छ।

व्यवसायिक रूपमा अगाडि बढ्दै गर्दा पैसा लिएर प्रमोशन गरिदिनु सामान्य भएको दीपा श्रेष्ठको भनाई छ। उनीहरूजस्तै धेरैले प्रमोशनल भिडिओ बनाउने गरेका छन्।

तपाईको प्रतिक्रिया