लकडाउनका कारण ६ महिनादेखि नेपाली चलचित्रको काम ठप्प छ । चलचित्रको छायांकन र रिलिज रोकिएका छन् । चलचित्रकर्मीहरु काम कहिले सुरु हुन्छ भन्ने आशमा छन् । केही निर्माताहरु चलचित्र निर्माणका लागि कलाकार समेत छनोट गरेर बसेका छन् ।

लकडाउन भएपछि निर्माताहरुलाई चलचित्र बनाउन समस्या नहोस् भनेर धेरै कलाकारले आफ्नो पारिश्रमिक कटौती गर्ने पनि बताएका थिए । नायक दयाहाङ राई, पल शाह, नायिका स्वस्तिमा खड्का लगायतले पारिश्रमिक कम गरेर काम गर्न आफूहरु तयार भएको बताएका थिए ।

नायिका नम्रता श्रेष्ठ र नायक विपिन कार्कीले करिब एक महिना अगाडि चलचित्र ‘प्रसाद २’ साइन गरेका हुन् । हुनत, यो चलचित्रका लागि उनीहरुले २५ लाख पारिश्रमिक मागेको चर्चा पनि नचलेको होइन । तर, वुझिएअनुसार यो चलचित्रका लागि उनीहरुले उच्च पारिश्रमिक लिएका छैनन् । ‘प्रसाद’मै लिए अनुसारको पारिश्रमिक उनीहरुले ‘प्रसाद २’मा लिएका छन् । उनीहरुले १२ देखि १५ लाखको विचमा पारिश्रमिक वुझेका छन् । यसैले, लकडाउनपछि पनि उनीहरु महंगिएका भने छैनन् ।

नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गर्ने पक्का भएको छ । कागजी रुपमा संझौता नभएकाले पनि उनको पारिश्रमिकको कुरा नभएको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । खनालले भने–‘स्वस्तिमाले पारिश्रमिक भन्दा पनि चलचित्र नै उत्कृष्ट बनाउनुपर्छ भन्नेमा बढी ध्यान दिएकी छिन् । कोरोनाका कारण चलचित्र क्षेत्र के हुन्छ भन्ने अवस्थामा रहेकाले राम्रो चलचित्र बनाउनुपर्छ र काममा कुनै संझौता गर्नुहुदैन भन्ने स्वस्तिमाको तर्क छ । पारिश्रमिकमा उनको ध्यान गएको मैले पाइनँ ।’

नायिका स्वेता खड्काले पनि यम थापाको निर्देशनमा बन्ने चलचित्र साइन गरेकी छिन् । तर, यो चलचित्रका लागि स्वेताले महंगो पारिश्रमिक लिएकी छैनन् । स्वेताले यसैपनि बाहिरी ब्यानरका कमै चलचित्रमा काम गरेकी छिन् । तर, उनले बाहिरी ब्यानरको चलचित्र खेल्दा पारिश्रमिकमा डिमाण्ड नगरेको वुझिएको छ ।

कोरोनाका कारण अस्तव्यस्त भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबैको हातेमालो आवश्यक छ । यस्तो समयमा चलचित्रमा लगानी गर्ने निर्मातालाई सुरक्षित बनाउनु आम चलचित्रकर्मीको मुख्य दायित्व पनि हो । यसैले, कलाकारदेखि प्राविधिक र अन्य चलचित्रकर्मीले पारिश्रमिकको बार्गेनिङमा बस्नु भन्दा राम्रो चलचित्र बनाउनमा ध्यान दिन आवश्यक छ ।

Source : onlinekhabar

तपाईको प्रतिक्रिया