सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ ।

संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य भएपछि पनि फिल्म क्षेत्र पुरानै लयमा फर्किन समय लाग्ने देखिन्छ । किनकि, यो क्षेत्र संक्रमणको उच्च जोखिममा पर्छ । कोरोना महामारीपछि फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म निर्माणको गति बढाउन कलाकारले पारिश्रमिक घटाउनु पर्ने आवाज उठिरहेको छ ।

दयाहाङ राई, स्वस्तिमा खड्का, पल शाहलगायतका कलाकारले निर्माता/निर्देशकको उद्देश्य बुझेर पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । नेपाली फिल्मकी अहिलेकी महंगी अभिनेत्रीको रुपमा चिनिएकी साम्राज्ञी आरएल शाहले पनि यो परिस्थितिबाट फिल्म क्षेत्रलाई माथि उठाउनका लागि पारिश्रमिक घटाउने विषयमा आफू सकारात्मक रहेको बताएकी छन् ।

हालै एक अन्तर्वार्तामा साम्राज्ञीले भनेकी छन्, ‘अहिले समय अनुकूल छैन । सिनेमा हलहरु बन्द छन् । फिल्म निर्माण भएका छैनन् । म पनि एउटा कलाकार हुँ । यो क्षेत्रको पीडा केही हदसम्म बुझ्छु । यसकारण सहमतिमा पारिश्रमिक घटबढ गरेर फिल्म गर्न तयार छु ।’ फिल्मबाट अब आफू टाढिएर बस्न नसक्ने बताउँदै उनले फिल्म मेकिङ पढ्ने इच्छा रहेको पनि बताएकी छन् ।

पछिल्लो पटक फिल्म ‘रातो टीका निधारमा’ मा देखिएकी उनले गएको महिना एक नयाँ फिल्म साइन गरेकी छन् । डेढ वर्ष अगाडि उनले हेमराज विसीको फिल्म पनि साइन गरेकी थिइन्, जसमा प्रदीप खड्कासँग उनको जोडी बाँधिएको छ । कोरोना महामारीपछि उनी यही फिल्मको छायांकनमा व्यस्त हुनेछिन् । उनले फिल्म ‘हुतुतु’ मा काम गर्ने सम्भावना पनि प्रवल छ ।

तपाईको प्रतिक्रिया