काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा आवद्ध २२ जना क्रिकेटरले सन् २०१९ को एकमुष्ट तलब पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको खातामा पठाएको हो ।२२ जना खेलाडीलाई तलब पठाइएको र प्रत्येक खेलाडीले १० हजार बढी तलब पाएको क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।टेक्निकल एनालिस्टले पनि एक वर्षको तलब पाएका छन् ।

क्रिकेटरहरूले १८ महिनापछि तलब पाएका हुन् । यसअघि फेब्रुअरी, २०१९ मा आईसीसीले २१ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदमार्फत तलब पठाएको थियो ।

तयसबेला ए श्रेणीमा रहेका खेलाडीले ३५ हजार, बी श्रेणीमा रहेका खेलाडीले २५ हजार र सी श्रेणीमा रहेका खेलाडीले १५ हजार पाएका थिए । यस पटक हरेक श्रेणीमा रहेका खेलाडीहरूको तलब १० हजार बढी पाएका छन् ।

करण र विनोद ए श्रेणीमा उक्लिए, बसन्तको घटुवा

२०१९ को तलब वितरण गर्दा केन्द्रीय सम्झौताको सूचीमा धेरै फेरबदल गरिएको छ । यसअघि बी श्रेणीमा रहेका करण केसी र सी श्रेणीमा रहेका विनोद भण्डारी ए श्रेणीमा उक्लिएका छन् ।

अहिलेसम्म ए श्रेणीमा रहेका स्पीनर बसन्त रेग्मी भने बी श्रेणीमा झरेका छन् । उनले २०१९ जुलाईको सिंगापुर टुरपछि राष्ट्रिय टिमबाट खेलेका छैनन् । त्यसैले पनि बसन्तको श्रेणी घटुवा भएको हुनसक्छ किनकि आईसीसीले २०१९ मा गरेको प्रदर्शनअनुसार श्रेणी विभाजन गरेको बताएको छ ।

ए श्रेणीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, सोमपाल कामी, शरद भेषावकर, करण केसी र विनोद भण्डारी छन् ।

बी श्रेणीमा पनि ८ जना नै छन्, जसमा बसन्त रेग्मी, अभिनाश बोहरा, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सर्राफ, आरिफ शेख, सुशन भारी र सन्दिप जोरा छन् । रोहित ललित र आरिफ बी श्रेणीमै यथावत रहँदा सुशन सीबाट उक्लिएका हुन् । अभिनाश पवन र सन्दिप भने सिधै बी श्रेणीमा पर्न सफल भएका छन् ।

यस्तै सी श्रेणीमा प्रदिप ऐरी यथावत रहँदा राजु रिजालले पुनरागमन गरे । राजु पहिलो पटक केन्द्रीय सम्झौतामा रहेपछि पछिल्लो पटक २०१७ र १८ मा भने थिएनन् । यसबाहेक कुशल मल्ल कुशल भुर्तेल इशान पाण्डे र रसिद खानले पनि पहिलो पटक केन्द्रिय सम्झौतामा स्थान बनाएका हुन् ।

केन्द्रिय सम्झौतामा ७ नयाँ खेलाडी अटाउँदा ६ पुराना खेलाडी बाहिरिएका छन् । यस्तै एक खेलाडीले पुनरागमन गर्दा १४ जना भने पुरानै खेलाडी रहेका छन् ।

यसअघि बी श्रेणीमा रहेका शक्ति गौचनले २०१८ मै सन्यास लिइसकेका छन् । बी श्रेणीमा रहेका अनिल कुमार शाह र ललित भण्डारी र सी श्रेणीमा रहेका दिलिप नाथ, सागर पुन, सुनिल धमला र सुबास खकुरेल यस पटक परेनन् । उनीहरुले २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

२०२० का लागि भने क्यान आफैंले नयाँ सम्झौता गर्ने तयारी गरेको छ । त्यसका लागि गत माघमा बसेको क्यान केन्द्रिय कार्यसमिति बैठकले कोषाध्यक्ष रोशन सिंहको संयोजकत्मा अमितविर पाण्डे र दुर्गाराज पाठक समावेश समिति गठन गरेको थियो । अब बस्ने क्यानको कार्यसमिति बैठकपछि २०२० को नयाँ सम्झौता तयार हुनेछ ।

त्यसबेला क्यानले पुरुषतर्फ २४ र महिलातर्फ पनि पहिलो पटक १८ जना समावेश गर्दै केन्द्रिय सम्झौतामा राख्ने जनाएको थियो । तर कोरोना महामारीले गर्दा त्यसको अन्तिम निर्णय हुन सकेको छैन र खेलाडीको संख्या पनि घट्न सक्ने सम्भावना छ ।

ग्राउण्ड स्टाफले पनि पाए तलब

क्रिकेट मैदानमा काम गर्ने ग्राउण्ड स्टाफले पनि तलब पाएका छन् । विभिन्न श्रेणीको ग्राउण्ड स्टाफलाई पछिल्लो ३ महिनाको तलब निकास गरिएको क्यान कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

मैदानमा काम गर्ने स्टाफको तलब १० देखि १८ हजारसम्म छ ।

छुटेको जिल्ला र क्षेत्रमा पनि रकम निकासा

यस्तै यसअघि रकम पठाउन बाँकी रहेको जिल्ला र प्रदेशमा पनि रकम निकासा गरिएको क्यान कोषाध्यक्ष सिंहले बताए ।

सिंहका अनुसार १६ जिल्ला र एक प्रदेशमा रकम पठाइएको छ । जिल्लामा ५० हजारका दरले रकम पठाइएको छ भने प्रदेशलाई १लाख ५० हजार रकम निकासा भएको छ । यसअघि २३ जिल्ला र ६ वटा प्रदेशमा क्यानले रकम निकासा गरेको थियो ।

मुलपानीमा अफिस सञ्चालनको तयारीमा

यस्तै क्यानले मुलपानीस्थित क्यानको मुख्य अफिस छिटै सञ्चालन गर्ने तयारी गरेको छ । क्यानले गत फेब्रुअरीमा नेपाल भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि सहज होस भनेर नक्सालमा क्यान सिटी अफिस सञ्चालनमा ल्याएको थियो ।

अब नक्सालको अफिस बन्द गर्ने र मुलपानीमै अफिस सञ्चालन गर्ने तयारी रहेको कोषाध्यक्ष सिंहले जानकारी गरे । मुलपानीमा रहेको पारनै संरचनामा नयाँ तरिकाले काम अगाडि बढाउने सिंहले बताए ।

(फोटो : रोशन सिंह/ क्यान कोषाध्यक्ष)

तपाईको प्रतिक्रिया