विगत ६ महिनादेखि भयावह रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक नेपालीको जीवन कष्टकर बनेको छ । कोरोनाको भयका कारण कोही निर्धक्क घरबाहिर निस्कन सकेका छैनन् । हरेक क्षेत्र ठप्प छन् । दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने श्रमिकहरुको रोजीरोटी गुमेको छ । यतिबेला देशमा आम मानिसलाई रोगभन्दा भोकको चिन्ताले नराम्रोसँग सताउन थालेको छ ।
कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेदेखि नेपाली फिल्मका कलाकारहरु पनि कामविहीन भएर घरभित्रै बसेका छन् । ५ महिना लामो लकडाउन अन्त्यपछि केही कलाकारले विज्ञापन र म्यूजिक भिडियोमा काम गरे । तर, कोरोना संक्रमणले भयावह रुप लिएपछि राजधानीलगायतका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरियो । यसपछि फेरि सबै घरमै सीमित भएका छन् ।
भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी ऋचा शर्मा लकडाउनअघि अर्गानिक कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त थिइन् । हनिमुन पोस्टपोन्ड गरेर यो शोका लागि समय दिएकी उनको लकडाउनपछि घरको चारकुनाभित्रै दैनिकी वितिरहेको छ । लकडाउनको समयमा उनले फिल्म रिलिज गर्ने ओटीटी प्लेटफर्म चलचित्र टीभी समेत लञ्च गरिन् । तर, यसले गति लिन सकेनन् ।
६ महिनायता कामविहीन भएर बस्नु पर्दा ऋचालाई निकै छटपटी भइरहेको छ । उनलाई एक्सन-कटको न्यास्रो लागेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले आफू राम्रो र सुन्दर दिनको प्रतिक्षामा रहेको उल्लेख गरेकी छन् । ऋचा मात्र होइन, अहिले हरेक नेपाली यही दिनको प्रतिक्षामा छन् । तर, कोरोना संक्रमितको संख्या हेर्दा यो दिन झनै टाढा हुँदै गएको छ ।