काठमाडौं ।

आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिच्किचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा रहेका असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् ।

यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफू यो उमेरमा आइपुग्दा पनि प्रेम सम्बन्धका विषयमा प्रश्न सोधिने र यसले आफू र आफ्नो परिवारलाई मानसिक रूपमा पर्ने दबाबको हेक्का नराखिने भनी असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले आफूसँग नाम जोडिएका व्यक्तिको प्रेम सम्बन्ध बारे सोधिने तर नाम जोडिने उक्त पुरुषलाई भने केही नसोधिने बताउँछिन् । उनले यो महिला भएको आधारमा हेप्ने प्रवृत्ति भएको उल्लेख गर्छिन् ।

उनी लेख्छिन्, ‘यो उमेर सम्म आइपुग्दा पनि अन्तर्वार्ताहरूमा त्यो एउटा प्रश्न जरुर आउँछ ! म एउटा विवाहित महिला हुँ परिवारमा बस्छु बिहे गर्ने उमेर को छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिऊँ ? अनि प्रश्न ती पुरुषहरू जो सँग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ ती मानिसहरूलाई चाहिँ त्यो प्रश्न सोधिएको पाउँदिनँ ! किन रहेछ ? उनीहरू पुरुष भनेर आँट नगरेको हो कि मलाई महिला भनेर हेपेको ?’

करिश्माले अरू नभए पनि आफ्नो श्रीमान् विनोद मानन्धर, बिहे गर्ने उमेर भएकी छोरी र परिवारको त इज्जत गर्नुपर्ने भनेकी छिन् । उनले अन्तमा के बुझौँ भने अहिलेको दर्शक श्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नु हुन्छ । लेखेकी छिन् ।

तपाईको प्रतिक्रिया