काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । केकी अधिकारी र बेनिशा हमालसँगै रिमाको अभिनय यात्रा सुरु भएको थियो । एक दशक अवधिमा केकी अधिकारी र बेनिशा हमालले तुलनामा रिमाका फिल्म थोरै छन् ।

थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । सांगीतिक रियालिटी शो नेपाल आईडल देखि कमेडी च्याम्पियनसम्म कार्यक्रम प्रस्तोता भएकी रिमा भन्छिन् ‘मलाई यसैमा रमाइलो छ ।’

राम्रो उद्घोषण कला भएकी रिमाको अभिनय पनि कमजोर छैन । पछिल्लो समय उनले आशा गरेको चलचित्र ‘हिजो आजका कुरा’ हो । अग्रज कलाकार सन्तोष पन्तले आफ्नो लोकप्रिय टेली चलचित्र हिजो आजका कुराको सफलता पश्चात सोही नाममा हास्यप्रधान चलचित्र हिजो आजका कुरा निर्माण गरेका हुन् । जसमा तीन जना अभिनेत्रीहरु केकी अधिकारी, रिमा विश्वकर्मा र ऋचा शर्मा रहेका छन् ।

रिमाले यसमा महत्वपूण भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रमा आफुले निकै राम्रो काम गरेका कारण यसले आफुलाई पुन स्थापित गर्नेमा उनी विश्वस्त छिन् । चलचित्र हिजो आजका कुरा गत बैशाखमा रिलिज हुनु पर्नेमा कोरोना संक्रमणका कारण रिलिज हुन सकेन ।

त्यसो त अभिनेत्री रिमाका केही आशा लाग्दा चलचित्र रिलिज नभएका हैनन् । उनले आशा गरेको चलचित्र बाटो मुनीको फूल २ र अर्को चलचित्र ऋतु थियो । बाटो मुनीको फूल २ ले ठिकै व्यापार गरे पनि चलचित्र ऋतु व्यबसायिक रुपमा सफल हुन सकेन ।

रिमाले भाले फाईट, स्केप लगायतका केही चलचित्रमा नायिकाको रुपमा काम गरिन् । तर ती चलचित्रले उनलाई खासै सफलता दिलाएन । यसरी चलचित्र यात्रामा आफुले बक्स अफिसमा हिट सिनेमा दिन नसकेपछि उनी केही वर्ष यताबाट रियालिटी सो सञ्चालनतर्फ बढी व्यस्त बनेकी छिन् । गत वर्ष हास्यप्रधान रियालिटी शो कमेडी च्याम्पियनको सञ्चालनबाट राम्रो चर्चा कमाएकी अभिनेत्री रिमा कमेडी च्याम्पियन २ मा पनि कार्यक्रम सञ्चालकको रुपमा अनुबन्धित भएकी छिन् । दोश्रो सृँखलामा पनि आफ्नो कामलाई दर्शकले त्यत्तिकै मन पराउने विश्वास यी अभिनेत्रीको छ ।

तपाईको प्रतिक्रिया