नेपाली फिल्ममा स्टार किड्सको प्रवेश बढ्दो छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत धेरै स्टार किड्स फिल्म अभिनयमा होमिसकेका छन् । सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा रोकिएपछि उनको अभिनेत्री बन्ने सपना अधुरै रह्यो ।

फिल्ममा कविताको जोडी अभिनेता शिव श्रेष्ठका छोरा शक्तिसँग बाँधिएको थियो । उनीहरुले फिल्मको केही प्रतिशत छायांकन समेत गरेका छन् । तर, निर्माताबीचको आन्तरिक मनमुटावले फिल्मको छायांकन पूरा हुन सकेको छैन । अब यो फिल्म निर्माण भएर प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ । अभिनय गरेको पहिलो फिल्म बीचमै रोकिँदा कविता निकै निराश भएकी छन् ।

अभिनेत्री करिश्माले एक टेलिभिजन अन्तर्वार्तामा छोरीको फिल्मप्रति रुचि हराउँदै गएको बताएकी छन् । उनले भनेकी छन्, ‘सबै कुराले पूर्णता पाउँछ भन्ने हुँदैन । त्यो फिल्म (एउटा यस्तो प्रेम कहानी) पनि त्यस्तै भयो । कविताले त्यो बेला रहर गरिन् र त्यसले उनलाई निराश पनि बनायो । फेरि फिल्म गर्ने उनको रहर मेटिएजस्तो छ । अहिले फिल्म गर्ने विषयमा कुरा गरेकी छैनन् ।’

‘एउटा यस्तो प्रेम कहानी’ भन्दा अगाडि करिश्माले आफ्नै होम प्रोडक्सनबाट छोरीलाई फिल्ममा डेब्यू गराउन खोजेकी थिइन् । त्यसका लागि फिल्मको स्क्रिप्टमा समेत काम भएको थियो । तर, शिव श्रेष्ठले कवितालाई आफ्नो फिल्मबाट डेब्यू गराउन चाहेपछि करिश्मा पछाडि हटेकी थिइन् । अब कविता फिल्ममा आउने सम्भावना न्यून रहेको करिश्माको भनाईबाट बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया