कमेडी कलाकारलाइ सर्कसको जोकर जस्तै मानिन्थ्यो। तर, यतिखेर भने पासा पल्टिएको छ। तिनै जोकर भनिएकाहरु नभई फिल्म नचल्ने अवस्था आएको छ। अहिले कमेडी कलाकारको स्वरूप नै फेरिएको छ। उनीहरुको प्रस्तुति अहिले फरक तरिकाले हुने गरेको छ।

पहिले पहिले पनि नेपाली फिल्ममा कमेडीलाई ठुलै हिस्साको रुपमा राखिन्थ्यो। कमेडी जनराको फिल्म नबन्दा पनि थुप्रै कमेडि कलाकारहरुले सपोर्टीङ्ग रोलमा काम गर्थे। स्वर्गीय भुपाल राज मैनाली, बसुन्धरा भुसाल, राजाराम पौडेल, जितु नेपाल, खेम शर्मा, शिवहरि पौडेल, तैयव शाह, सन्तोष पन्त, किरण केसी, उत्तम केसी, दीपकराज गिरि लगायतका दर्जनौ कलाकारहरु कमेडीमा सक्रिय थिए।

कमेडि कलाकारलाई हीरोको साथि, पुलिसको सिपाही वा हवल्दार, घरमा काम गर्ने सहयोगीको भूमिकामा २/४ सिनमा मात्र देखिने गर्थे। समय त्यस्तै नै थियो। हीरोले ठुलो स्वरमा कराउने, भरपुर द्वन्द र केहि रोमान्सका सिनले नै फिल्म सकिन्थे।

कुनै पनि निर्माता निर्देशकले सोचेका थिएनन् होला सिंगो फिल्मलाई कमेडि कलाकारले हाक्न सक्छन् भनेर। तर, समयले कोल्टे फेर्यो। हास्य कलाकारको पनि दिन फेरियो। फिल्म ‘छ एकान छ’को निर्माण र त्यसले पाएको सफलता त्यसको ज्वलन्त उदाहरण हो।

सानो पर्दाको टेलिफिल्महरु; मेरी बास्सै, जिरे खुर्सानी र तितो सत्यले बजार तताइरहेको बेला उनीहरुले नै बनाएको ‘छ एकान छ’ ले बम्पर व्यापार गर्यो। ‘छ एकान छ’ पछि बनेका वडा नम्बर छ, छक्का पन्जाका ३ सिरिज र छ माया छपक्कै कमेडी जनरामा र कमेडी कलाकारले नै सुपर हिट बनाएका फिल्म हुन्।

अहिले कमेडी जनराकै थुप्रै फिल्महरु बन्नेगरेको छ। अहिले पनि कमेडी फिल्म बनाउनेको लहर नै चलेको छ। सेलाएर बसेका, अझ भनौ रिटायर भएर बसेका थुप्रै कलाकारहरु फिल्ममा देखिन थाले। धेरैले फिल्म निर्माणमा पनि हात हाले।

कमेडी कलाकार भनेका मुख बंग्याएर हसाउने पात्र मात्र हुन् भन्ने छाप हटेको छ। कमेडी कलाकारहरुको टिमले बनाएको फिल्म रिलिज हुदा अर्को बडेमान हीरोको होस् या चक्लेटि अनुहारका चलेका हीरोको फिल्म होस्, रिलिज गर्न केहि सोच्नुपर्ने समय आएको छ।

तपाईको प्रतिक्रिया