जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताएका छन् ।

यो रेलको क्षमता १३ सय यात्रुको छ। तर एकैपटक यात्रु चढ्दा भने ७ सय मात्रै चढ्न मिल्छ। रेलमा अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ।

सञ्चालनमा आउन लागेको रेलमार्ग ३५ किलोमिटरको छ। जहाँ आठवटा सवस्टेसन छन्। सामान्यतया ५–५ किलोमिटरमा सवस्टेसन भएकाले रोक्दै गुडाउनुपर्ने भएकाले पूर्ण गतिमा चल्न नसक्छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले यो रेल दिनमा तीनपटक ओहोरदोहोर गर्ने बताएका छन् ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलको अघिल्लो र पछिल्लो दुवै भागमा इन्जिन हुने भएकाले प्रतिघण्टा करिब एक सय किलोमिटरका दरले कुद्ने बताए। विभागले यो रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा हुने बिजुलीबाट चल्ने जनाएको छ। रेल ब्रोडग्रेज लिकमा चल्नेछ। सरकारले ८६ करोड रुपैयाँ लागतमा नेपाली झण्डा अंकित रेल निर्माणमा खर्च गरेको छ।

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई जयनगर–जनकपुर रेलले यात्रु ओसारेर मात्रै खर्च धान्न नसक्ने बताउँछन्। यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड रुपैयाँ आम्दानी गर्ने देखिएको छ। जयनगर–जनकपुरसम्मको प्रारम्भिक साधारणतर्फे भाडा ७५ रुपैयाँ र डिलक्स तथा एसी कक्षको भाडा पाँच सय रुपैयाँ पर्न सक्ने कम्पनीले जनाएको छ। तर निश्चित भाडा भने तय गरिएको छैन। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइसकेको छ।नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया