काठमाडौं । कोरोनाका कारण चैत ६ गतेबाट चलचित्र क्षेत्र ठप्प हुँदा समस्यामा परेका चलचित्रकर्मीहरुलाई चलचित्र विकास बोर्डले राहत वितरण गरिरहेको छ । बोर्डले प्राविधिक तथा कलाकारहरुलाई राहत वितरण गरिरहेको हो ।

बोर्डका अनुसार सबैभन्दा धेरै चलचित्र प्राविधिक संघलाई १० लाख रुपैयाँ वितरण गरिएको छ । उक्त रकम संघले २०० प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले वितरण गरेको छ । अति धेरै आर्थिक समस्यामा परेका प्राविधिकलाई प्राथमिकताका आधारमा उक्त रकम वितरण गरिएको हो ।

नृत्य संघले पनि ५ लाख रुपैयाँ राहत स्वरुप बोर्डबाट लगेको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । कलाकार संघले पनि बोर्डबाट राहत स्वरुप बजेट लगिसकको छ । कलाकार संघका अनुसार यसअघि ४५ कलाकारले ५ हजारका दरले राहत लगेकोमा ३५ जनालाई दिने तयारी भइरहेको संघले जनाएको छ ।

“लामो समयदेखि चलचित्रको काम ठप्प हुँदा दिनप्रतिदिन आर्थिक अभाव बढ्दै गएको छ,” चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भन्छन्, “राम्रै नाम चलेका कलाकारहरुले नै समस्या भयो भनेर भनेपछि थप ३५ जनालाई वितरण गर्दै छौं ।”

नाम चलेकै कलाकारलाई आर्थिक अभाव भएपछि राहत लिन आउने तर नाम सार्वजनिक हुने डरले केही कलाकार फर्किने गरेको उनी बताउँछन् । यद्यपि पारदर्शी आवश्यक भएकाले बैंक खातामै पठाउनु पर्ने उनले जानकारी दिए । “हाम्रै कलाकारहरुमा पनि कति त पाँच हजार राहत पनि लिने भन्दै जिस्काउने पनि छन् । त्यसैले पनि कतिले चाहेर पनि राहत लिन सकिरहेका छैनन्,” उनी भन्छन्, “त्यस्ता कलाकारहरुलाई बैंक खातामै पठाइदिने गरेका छौं ।”

नाम चलेकै राम्रै कलाकारले पनि पाँच हजार रुपैयाँ राहत थाप्‍नुपर्ने अवस्था आएको भन्दै खड्काले तत्काल चलचित्र क्षेत्रलाई पनि खोलेर पुरानै अवस्थामा फर्काउनुपर्नेमा जोड दिन्छन् । द्वन्द्व संघले भने कागजी प्रक्रिया नपुगेका कारण बोर्डले उपलब्ध गराउने सहयोग प्राप्त गर्न सकेको छैन । “पारदर्शी हुन आवश्यक छ । नीतिगत निर्णयभन्दा बाहिर गएर काम गर्न सकिँदैन,” बोर्ड अध्यक्ष दाहाल भन्छन्, “प्रत्येकका बैंक खातामै पैसा पठाउनुपर्ने भएकाले सम्बन्धित व्यक्तिको बैंक खाता नम्बर र संघले आवश्यक कागजात जुटाएपछि मात्रै राहत दिन्छौं ।”

दसैं नजिकिँदै जाँदा चलचित्रकर्मीलाई आर्थिक संकट पनि थपिँदै गएको छ । घरघाडा तिर्नुपर्ने, घर जानुपर्ने तथा स्कुलले बच्चाको शुल्कसमेत एकैपटक पठाउँदा आर्थिक संकट चुलिएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् ।

बोर्डले दिएको १० लाख रुपैयाँ अपुग भएको उनको भनाइ छ । बोर्डले चलचित्रकर्मी विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । उक्त कोषमा चलचित्रकर्मीलाई सहयोग गर्न चहानेहरुले सहयोग गर्नसक्नेछन् ।

तपाईको प्रतिक्रिया