काठमाडौं – कोरोनाभाइरसको संक्रमणका कारण नेपाली चलचित्र क्षेत्रमा निर्माण भइसकेको चलचित्रहरु प्रदर्शनमा आउन सकिरहेका छैनन् ।

सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका चलचित्रहरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना पनि कम छ । नयाँ चलचित्रका घोषणा भए पनि छायांकन पनि शुरु भएका छैनन् ।

कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि चलचित्रको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच चलचित्र ‘कृष्ण लीला’ निर्माण हुने भएको छ ।

‘पण्डित बाजेको लौरी’ चलचित्र निर्देशन गरेका दीपक ओलीका निर्देशनमा चलचित्र ‘कृष्ण लीला’ निर्माण हुने बताइएको छ ।

यस चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाँइको मुख्य भूमिका रहने बताइएको छ ।लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने यस चलचित्र कमेडी कथामा आधारित हुने निर्माण टिमले बताएको छ ।

चलचित्र असोजको १५ गतेबाट फ्लोरमा जाने योजनामा रहेको बताइएको छ । चलचित्रको छायाङ्कन तराईका विभिन्न जिल्लामा गरिने बताइएको छ । चलचित्रमा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया