अभिनेता तथा गायक क्याप्टेन विजय लामाले कोरोना संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीको तलब र सुविधा वृद्धि गरेर उनीहरूलाई बलियो बनाउन आह्वान गरेका छन्।

कोरोना संक्रमणपछि स्टार अस्पतालको आइसोलेनमा बसी स्वास्थ्य सेवा लिइरेहका विमान चालक लामाले बुधबार फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्यकर्मीलाई बलियो बनाउन आग्रह गरेका हुन्। ‘पीपीईमा सबै एकै देखिन्छन्। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कसैलाई चिन्न सकेको छैन।

यो कोभिडको कहरमा यस्तै हुँदोरहेछ। उहाँहरू सबैले कष्ट सहेर, ज्यान बाजीमा लगाएर हामी जस्ता संक्रमणमा परेकालाई नयाँ जीवन दिन अहोरात्र खटिएर सेवा पु¥याउनुभएको छ’, विजयले स्ट्याटस लेख्दै भनेका छन्– ‘घर जान पाउनुहुन्न, दिनमा १२ घन्टाको डिउटी हुन्छ।

पीपीई दुईचोटि मात्र फेर्न पाउँछन्। तर, एकचोटी लगाएपछि लगातार ६÷७ घन्टा बस्नुपर्छ। त्यो समय न त शौचालय प्रयोग गर्न पाउँछन्, न त केही पिउन या खान नै पाइन्छ। न त गर्मी भएर छ्यापछ्यापती पसिना आउँदा नै फुकाल्न मिल्छ।

यसरी खटिएकाहरुका लागि सरकारले कुनै सुबिधा दिलाउन सकिन्न? उल्टै तनखा (तलब) पनि घटाएर काममा खटाउने? कुनै बिमा गराउनु पर्दैन? यो कत्तिको न्यायपूर्ण छ?’

विजयले आह्वान गर्दै लेखेका छन्– ‘आज हाम्रो नयाँ जीवन प्राप्तिमा उहा“हरुको ठूलो साथ भएको कुरामा दुईमत छैन। आभारी छु सबै मेडिकल टिमप्रति।

विनोद चौधरी दाइ, डा. भोला रिजालज्यू, राजेन्द्रबहादुर सिङ भाइ अनि सम्पूर्णमा मेरो आग्रह यो छ कि केही बोलिदिनुस्। केही गरिदिनुस् उहाँहरुका लागि। हाम्रा सन्तान नै हुन्। अन्याय हुन नदिनुस् तनखा (तलब) कटाएर होइन, बढाएर अनि सुविधा थपेर बल्लियो बनाउनुपर्छ। भोलिका दिनहरु कठिन छन् अझै।’

उनले भिडियो सन्देश जारी गर्दै कोरोना संक्रमणलाई सामान्यरूपमा नलिन आग्रहसमेत गरेका छन्। भिडियोमा उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र चाँडै निको हुने जनाएका छन्। कोरोना मुक्त भएपछि उनले विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जनाएका छन्।

उनी ज्वरो आएको हो/होइन जस्तो हुने र जिउ दुख्ने समस्या भएपछि पीसीआर परीक्षण गर्न पुगेका थिए। परीक्षणमा कोरोना संक्रमबाट हुने कोभिड–१९ पुष्टि भएपछि स्वास्थ्य सेवा लिन स्टार अस्पताल भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया