लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन् ।

चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो । बाँकी ५० प्रतिशत छायांकन अब गर्ने तयारी निर्माता सुनिलकुमार थापाले गरेका छन् । उनले, गीत छाडेर करिब १५ दिनमा अरु छायांकन सकिने बताए । उनले भने–‘काठमाण्डौ भित्रका लोकेशनमा गीतबाहेक करिब १५ दिनमा सबै काम सक्छौ । गीतको छायांकन पछि गर्ने तयारी गरेका छौ ।’

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको थियो । तर, कोरोना भाइरसका कारण यो संभव हुन सकेन ।

यसैविच, चलचित्रमा गायक दुर्गेश थापालाई यसको निर्माणपक्षले अनुवन्धित गरेको छ । निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र कोरियोग्राफर रामजी लामिछानेले दुर्गेससँग आज भेट गरेका हुन् । दुर्गेशको बिषयमा निर्माता थापाले भने–‘हामीलाई गीत पनि गाउने र अभिनय पनि गर्ने एक जना गायकको आवश्यकता थियो । दुर्गेससँग केही समयदेखि कुरा भैरहेपनि आज संझौता भएको हो । चलचित्रमा पनि दुर्गेस आफ्नै परिचयमा देखिनेछन् । चलचित्रमा एउटा गीत र केही दृश्यमा दुर्गेस देखिनेछन् ।’

यसअघि गायक थापाले चलचित्र ‘छ माया छपक्कै’को एउटा प्रमोशन गीत गाएका थिए भने सो गीतमा अभिनय पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया