गत वर्ष प्रदर्शित दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि अभिनेत्री साम्राज्ञी आरएल शाहको स्टारडममाथि प्रश्न उठेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि निर्माता तथा निर्देशकले उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा लिएका थिए । तर, यी दुई फिल्मपछि बक्सअफिसमा उनको जादू चल्न सकेको छैन ।

श्रृंखलाबद्ध विवादका कारण प्रशंसकभन्दा आलोचक बढी कमाएकी साम्राज्ञीले ‘रातो टीका निधारमा’ पछि ६ महिना कुनै फिल्म साइन गरिनन् । जसले गर्दा उनीलाई फिल्म अफर नभएको समेत चर्चा चल्यो । तर, लकडाउनयता उनले लगातार फिल्म साइन गरिरहेकी छन् । प्रवेश पौडेल, रमेश एम.के पौडेल र मिलन चाम्सको गरी उनले ६ महिनामा तीन फिल्म साइन गरेकी छन् ।

योसँगै उनको पाइपलाइनमा हेमराज विसीको फिल्म ‘अशुभ विवाह’ पनि छ । ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को कमेडी फिल्म ‘हुतुतु’ गर्न पनि उनी सकारात्मक छिन् । ६ महिनाको विश्रामपछि लकडाउनको समयमा लगातार फिल्म साइन गर्नुलाई साम्राज्ञीले फिल्मविहीन भएको भन्दै आफ्नो खेदो खन्नेलाई जवाफ फर्काएको कतिपयको विश्लेषण छ ।

तर, उनकी आमा नेहा आरएल शाह आलोचकलाई जवाफ दिन साम्राज्ञीले लगातार फिल्म साइन नगरेको बताउँछिन् । उनले भनिन्, ‘साम्राज्ञीलाई फिल्म अफर कम भएको छैन । लकडाउनको बेला राम्रो टिम र स्क्रिप्टबाट अफर आएकाले फिल्म साइन गरेकी हुन् । अनि, साइन गरेका फिल्म एकसाथ फ्लोरमा जाने पनि होइनन् । सबै फिल्मको छायांकन सहमतिमा हुनेछ ।’

साम्राज्ञीले पहिलो प्राथमिकता भने ‘हुतुतु’ लाई दिएको नेहा बताउँछिन् । उनी भन्छिन्, ‘फिल्मको टिमसँग तीन पटक छलफल भइसकेको छ । तर, अहिलेसम्म कागजी सम्झौता भएको छैन । साम्राज्ञी फिल्म गर्न इच्छुक छिन् ।’ निर्माण टिमलाई भने साम्राज्ञीले लगातार फिल्म साइन गरेका कारण ‘हुतुतु’ को वर्कसप र छायांकनमा पर्याप्त समय दिन नसक्ने हुन् कि भन्ने चिन्ता छ ।

स्थिति सामान्य भएपछि साम्राज्ञीले पहिला कुन फिल्म गर्ने भन्ने तय नभएको नेहाको भनाई छ । कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई उठाउन अहिले साम्राज्ञीले पहिलाको भन्दा कम पारिश्रमिकमा फिल्म साइन गरेको पनि उनी बताउँछिन् । छोरीको पारिश्रमिकदेखि फिल्मको सेड्युल मिलाउनेसम्म नेहाले गर्छिन् । साम्राज्ञीलाई फिल्म अफर गर्न पहिला उनलाई भेट्नु पर्छ ।

तपाईको प्रतिक्रिया