‘नोभेम्बर रेन, क्लासिक, प्रसाद’ जस्ता यादगार फिल्मको निर्देशन गरेका दिनेश राउत प्रेमकथामा फिल्म बनाउन खप्पिस मानिन्छन् । उनका फिल्म हेरेर युवापुस्ताका दर्शकले प्रेम गर्न सिकेका छन् । मनछुने ढंगबाट वियोगान्त प्रेमकथा पस्कने खुबी भएका उनी अहिले नयाँ फिल्मको तयारीमा छन् । कोरोनाको महामारीपछि फिल्मको छायांकन सुरु गर्ने तयारी उनको छ ।

नाम गोप्य राखिएको फिल्ममा उनले पहिलो पटक अभिनेता प्रदीप खड्कालाई निर्देशन गर्दैछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्ममा प्रदीपले गाउँले युवकको भूमिका निर्वाह गर्ने जानकारी प्राप्त छ । उनको अपोजिटका लागि अभिनेत्रीको भने टुंगो लागेको छैन । पहिलो पटक दिनेश र प्रदीपबीच टिमअप भएका कारण दर्शकमाझ यो फिल्म निर्माण नहुँदै प्रतिक्षीत बनेको छ ।

प्रदीपले पहिलादेखि नै दिनेशसँँग काम गर्न चाहेका थिए । फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप पनि भएको थियो । तर, विविध कारणले यो फिल्म निर्माण भएन । लकडाउनमा प्रदीप आफैं एक फिल्मको प्रस्ताव लिएर दिनेशसामु पुगेका थिए । नयाँ फिल्ममा प्रदीपसँग सहकार्य गर्न तयार भएपछि निर्देशक राउतले साइन गरिसकेको फिल्म ‘मेरो एउटा साथी छ २’ समेत छाडेका छन् ।

सहकार्यको हात मिलाएपछि अहिले दिनेश र प्रदीप एकअर्कासँग निकै नजिक भएका छन् । फिल्ममा सँगै काम गर्ने सहमति पश्चात् उनीहरुबीच दिनहुँ भेटघाट हुने गरेको छ । यसबीच, निर्देशक राउतले फिल्मभन्दा अगाडि प्रदीपलाई लिएर सोमवार प्रभु बैंकको एक विज्ञापन तयार पारेका छन् । अरु पनि प्रोजेक्टमा उनीहरुबीच सहमति भएको गोप्य स्रोतले जानकारी दिएको छ ।

कुनै समय दिनेश राउत अभिनेता आर्यन सिग्देलसँग नजिक थिए । उनी आफ्ना हरेक फिल्ममा आर्यनलाई रोज्थे । उनले निर्देशन गरेका तीन फिल्म ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ मा आर्यनको मुख्य भूमिका छ । ‘क्लासिक’ पछि उनीहरु अर्को फिल्म पनि सँगै गर्दै थिए । तर, आपसी मतभेदका कारण उनीहरुको सहकार्य टुट्यो, जुन अहिलेसम्म गाँसिने छाँटकाँट देखिएको छैन ।

आर्यन र दिनेशलाई नजिकबाट चिन्नेहरु अहिले उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको बताउने गरेका छन् । आर्यनसँग सहकार्य टुटेपछि राउतले अभिनेत्रीमा नम्रता श्रेष्ठको साथ नछाडे पनि हिरोमा कसैलाई च्यापेका थिएनन् । अब उनले प्रदीपलाई च्याप्न थालेको चर्चा चल्न थालेको छ । फिल्मसँगै विज्ञापनमा पनि उनले प्रदीपलाई रोज्नुले यसप्रकारको चर्चा चल्नु स्वभाविक हो ।

तपाईको प्रतिक्रिया