काठमाडौं– सरकारले आगामी दसैंअघि नै मनोरञ्जन क्षेत्र खासगरी सिनेमा हल खोल्न अनुमति दिने संकेत दिए लगत्तै नेपाली चलचित्र क्षेत्र तरंगित भएको छ ।

सरकारको निर्णय पर्खेर बसेका थुप्रै चलचित्र एकै पटक फ्लोरमा जाने छन् भने प्रदर्शनका लागि तयार भएका चलचित्रले पनि सहुलियत पाएको खण्डामा आफ्नो चलचित्रलाई निसेमा हलमा प्रदर्शन गर्न सक्ने छन् ।

यद्यपि, प्रदर्शनका लागि तयार भएका चलचित्रका निर्माताहरु अहिलेकै अवस्थामा भने आफ्नो चलचित्रलाई प्रदर्शन गर्ने मुडमा छैनन् ।

‘म यस्तो गीत गाउँछु–२, प्रेमगीत–३, चपली हाइट– ३, हिजो आजका कुरा, लक्का जवान आदि चलचित्रहरु प्रदर्शनका लागि तयार छन् ।

यी चलचित्रका निर्माताहरु चलचित्रका वितरक तथा सिनेमा हलका सञ्चालकहरुले लगानी सुरक्षित हुने गरी मिनिमम ग्यारेन्टी (एमजी) पाएको खण्डमा मात्र आफ्नो चलचित्र प्रदर्शन गर्ने अडानमा छन् ।

उनीहरुको यो मागलाई पुरा गर्न वितरक र सिनेमा हल सञ्चालकहरु तयार छैनन् ।

निर्माता, वितरक तथा हल सञ्चावलको यो पानी बाराबारको अवस्थालाई चलचित्र विकास बोर्डले मध्यमार्गी बाटो पहिल्याएको छ ।

चलचित्र विकास बोर्डले सरकारले सिनेमा हल खोल्ने अनुमति दिएको अघिल्लो ६ महिनाभित्र प्रदर्शन हुने नेपाली चलचित्रको सर्भर इन्कोडिङ चार्ज, हलमा चलचित्र रिलिज गर्दा लाग्नेप्रति शोको चार्ज र पोष्टर छपाईको सम्पूर्ण खर्च बोर्डले बेहोर्ने भएको छ ।

यसका साथै टेलिभिजन च्यानलहरुमा चलचित्रको सहुलियत विज्ञापनको लागि पनि विकास बोर्डले पहल गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको भनाइ छ ।

अध्यक्ष दाहालका अनुसार चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि बोर्डले प्रदर्शन हुने चलचित्रलाई सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया