नेपालको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल’ लाई अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । किनकि, यो प्रतियोगिताले नेपाली फिल्म क्षेत्रलाई थुप्रै अभिनेत्री दिएको छ । रुवी राणा, झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठलगायतका ताजधारी ‘मिस नेपाल’ नेपाली फिल्मको सदस्य भइसकेका छन् । तर, ‘मिस नेपाल’ विजेताको फिल्म करिअर भने खासै सुखद देखिएको छैन ।

‘मिस नेपाल’ को उपाधि जितेपछि नेपाली फिल्मका लागि अभिनेत्रीको रुपमा प्रस्तावको ओइरो लाग्छ । सन् २०१७ की ‘मिस नेपाल’ निकिता चाण्डकलाई पनि अभिनेत्रीको रुपमा डेब्यू गराउन निर्माता/निर्देशकबीच हानाथाप भएको थियो । उनले ‘मिस नेपाल’ को एक वर्षे कार्यकाल सकिएपछि फिल्म ‘रानी महल’ साइन गरिन् । तर, यो फिल्म छायांकनकै क्रममा डिसमिस भयो ।

पहिलो गाँसमै ढुंगा लागेपछि निराश भएकी निकिताले दोस्रो फिल्मको रुपमा अभिनेता विराज भट्ट अभिनीत फिल्म ‘साङ्लो’ मा काम गरिन् । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । एक समयका सुपरस्टारसँग स्क्रिन शेयर गरेका कारण आफ्नो डेब्यू सार्थक हुनेमा निकिता विश्वस्त थिइन् । तर, फिल्मले न नाफाको व्यापार गर्‍यो न त उनको अभिनयको नै वाहवाही भयो ।

‘साङ्लो’ प्रदर्शनको डेढ महिनामा कोरोनाका कारण देश लकडाउन भएपछि निकिता घरभित्रै सीमित भएकी छन् । यो समयमा अरु कलाकारलाई फिल्म अफरको ओइरो लागेको छ । कतिले फिल्म साइन पनि गरेका छन् । निकितालाई भने कुनै फिल्मबाट अफर भएको जानकारी प्राप्त छैन । डेब्यू फिल्मको असफलताले उनको करिअर संकटमा परेको कतिपयको विश्लेषण छ ।

एउटा कलाकारलाई सहज रुपमा करिअर अगाडि बढाउन फिल्मको व्यावसायिक सफलता महत्त्वपूर्ण मानिन्छ । फिल्मको असफलताले प्रतिभावान कलाकारहरु पछाडि परेका कयैन् उदाहरण छन् । यसकारण अब निकिता फिल्म छनौटमा गम्भीर हुनुपर्ने देखिन्छ । असफल ‘मिस नेपाल’ को भीडमा अपवाद बन्न उनलाई फलामको चिउरा चपाउनुभन्दा कम कठिन छैन ।

बिहीवार जन्मदिन मनाइरहेकी अभिनेत्री निकिता चाण्डकलाई Entertainmentkhabar तर्फबाट जन्मदिनको शुभकामना ।

तपाईको प्रतिक्रिया