काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट कलाकारहरू पनि पीडित बनेका छन्। कोही निको भएर घर फर्किएका छन्। भने कोही उपचाररत छन्। हास्य कलाकार मनोज गजुरेललाई हिजो मात्र कोरोना संक्रमण देखिएको छ।

गएराति सामाजिक सञ्जालमार्फत गजुरेलले आफ्नो शरीरमा ‘कोभिड-१९ पोजिटिभ’ देखिएको जानकारी गराएका छन्। आफू बिहीबारदेखि नै आइसोलेसनमा बसेको भन्दै उनले बाबु-नानीहरूलाई भने कुनै लक्षण नदेखिएको बताए।

आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ’पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन उनको अनुरोध छ।

गजुरेलले लेखेका छन्, ’मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन। त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु। तपाइँहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ।’

हरिवंश आचार्य

अर्का हास्य कलाकार हरिवंश आचार्य कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। उनीसँगै उनकी श्रीमती रमिला पनि कोरोना संक्रमित भएकी थिइन्। दुवैजना संक्रमणमुक्त भएका छन्। उनीहरु दुई साता होम आइसोलेसनमा बसेका थिए।

संक्रमणमुक्त भएपछि उनले सबैलाई सचेत भएर बस्न आग्रह गरेका छन्। “कोरोनालाई मजाकको विषय बनाइएको छ। यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ। सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ।” हरिवंशले भने।

खेम सेन्चुरी

गायक खेम सेन्चुरी पनि कोरोना संक्रमणमुक्त भएका छन्। उनलाई गत भदौ १६ गते कोरोना पोजिटिभ देखिएको थियो। हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि उनले पीसीआर परीक्षण गराएका थिए।

रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए। घरमै बसेर उनले तातोपानी पिउने, व्यायाम गर्ने तथा खानपिनमा बढी ध्यान दिन थालेपछि उनी संक्रमणमुक्त भए। त्यो अवधीमा आफूले तातोपानी, बेसारपानी, दालचिनी पानी, सुपहरू र तितेपातीलगायत भिटामिन तथा फलफूल खाएको बताए।

उनी भदौ ३० गते कोरोना संक्रमणमुक्त भएका हुन्। सचेत भएर सुरक्षित बस्दा कोरोना बाहिर हल्ला फैलिएजस्तो नरहेको उनको भनाइ छ। डाक्टरको सल्लाहअनुसार नै उनी होम आइसोलेनमा बसेका थिए।

सुवास कार्की ‘बेलासे’

नेपाली कलाकारहरूमध्ये सुवासलाई सबैभन्दा पहिले संक्रमण देखिएको थियो। लण्डनमा बस्दै आएका उनी संक्रमित भएपछि होम आइसोलेसनमा बसेका थिए।

हास्य श्रृंखला ‘भद्रगोल’ मा ‘बेलासे’ को भूमिका निर्वाह गरेर चर्चा कमाएका सुवासमा गत वैशाखमै कोरोना पोजेटिभ देखिएका थिए। कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका थिए। एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दै आएका उनी श्रीमती, एक छोरा र एक छोरीका साथ बस्दै आएका छन्।

टंक बुढाथोकी

गायक तथा संगीतकार टंक बुढाथोकी गत भदौमा संक्रमित भएका थिए। उनी झण्डै एक महिनापछि संक्रमणमुक्त भए।

होम आइसोलेसनमा बसेका बुढाथोकीले घरेलु उपचार पद्धति अपनाएका थिए। संक्रमणमुक्त भएपछि सामाजिक सञ्‍जालमार्फत उनले आफूले कोरोनालाई जितेको जानकारी सार्वजनिक गरे।

कलाकार तथा पाइलट विजय लामा

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा १८ दिनमा कोरोना संक्रमणमुक्त भए। गत भदौ २९ गते उनलाई संक्रमण फेला परेको थियो।

थुप्रै पीडाकाबीच आफूले कोरोना जितेको भन्दै कोरोनालाई हाउगुजी नसम्झिन लामाले अनुरोध गरेका छन्। संक्रमणमुक्त भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुःख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ। यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितेँ।’

लोचन रिजाल

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा स्वाब परीक्षण गराउँदा गायक लोचन रिजाललाई पनि ‘पोजिटिभ’ देखियो।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समयदेखि आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको थियो। आफूलाई लक्षण देखिनेवित्तिकै क्वारेन्टाइनमा बसेको र अहिले आइसोलेसनमा रहेको छु।’

प्रेमराजा महत

अमेरिकामा बस्दै आएका लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसीलाई पनि कोरोनाको संक्रमण भयो। गत ७ अगष्टमा फेसबुकमा उनले आफू र पत्नी दुवैमा कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

घरमै आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका महतले कोरोनाबाट जोगिन समयमै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया