बेल्जियम र चेक रिपब्लिक युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। गएराति भएको खेलमा पोर्चुगललाई पराजित गर्दै बेल्जियम र नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

गएराति भएको यूरो कपको चौथो प्रि–क्वार्टरफाइनलमा बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गरेको हो। बेल्जियमका लागि पहिलोका हाफको ४२औं मिनेटमा थोर्गन हजार्डले गोल गरेका थिए।

पहिलो हाफमा १–० अग्रता लिएको बेल्जियम दोस्रो हाफमा पनि हाबी रह्यो। दोस्रो हाफमा पोर्चुगलले पटक पटक प्रहार गरे पनि गोलमा परिणत हुन सकेन।

पोर्चुगलले गोलका लागि २४ वटा प्रहार गरेको थियो। जसमा चार वटा पोस्टमै थिए। तर, बेल्जियमका गोलकिपरले सबै जोगाए।

बेल्जियमले भने ६ वटा मात्रै प्रहार गरेको थियो। पोस्टमा भने एउटा मात्रै थियो। त्यही गोलमा परिणत भयो। अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमले इटालीको सामना गर्नेछ।

यसअघि भएको खेलमा चेकले नेदरल्यान्ड्समाथि २–० को जित हासिल गरेको हो। पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो।

दोस्रो हाफमा नेदरल्यान्ड्सका म्याथिस डी लिग्टले रेड कार्ड पाएपछि चेक हाबी भएको हो। ५५औं मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको केही मिनेटमै चेकले गोल गर्‍यो।

चेकका लागि ६८औं मिनेटमा टोमस होलेसले गोल गरे। त्यस्तै, खेलको ८०औं मिनेटमा प्याट्रिक सिकले अर्को गोल थपेसँगै चेकको २–० को जित सुनिश्चित बन्यो।

अब सेमिफाइनल प्रवेशका लागि चेकले डेनमार्कको सामना गर्नेछ।

आज राति ९ः४५ बजे स्पेन र क्रोएसिया तथा १२ः४५ बजे फ्रान्स र स्वीट्जरल्यान्ड क्वार्टरफाइनल प्रवेशका लागि भिड्नेछन्।

तपाईको प्रतिक्रिया