होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ क्रुजर बाइक सीबी हाइनेस ३५० लाई सार्बजनिक गरेपछि अहिले यसको चर्चा ह्वात्तै चुलिएको छ । सार्बजनिक भएको केही दिनपछि नै स्टक सोल्ड आउट भएको र त्यसपछि पनि यसको धमाधम बुकिङ भैरहेको कम्पनी स्रोतले बताएको छ ।

यसअघि यो सेग्मेन्टमा रोयल इन्फिल्ड क्लासिकको मात्र दबदबा रहँदै आएको थियो । पछि जावा समेत भित्रिएपनि यसले खासै बजार भने लिन सकेन । होन्डा सीबी ३५० को उत्साहजनक सुरुवाती कारोबारले आगामी दिनमा यसले रोयल इन्फिल्ड क्लासिकलाई कडा टक्कर दिने संकेत देखा परेको छ ।

क्लासिक ३५० को तुलनामा १ लाख ५० हजार रुपैयाँसम्मले महंगो पर्ने सीबी ३५० मा कम्पनीले विशेष प्रकारका ५ फिचर्स समावेश गरेको छ, जुन क्लासिक ३५० मा उपलब्ध छैन । यी ५ फिचर्समा होन्डाको गुणस्तर, फोन कनेक्टिभिटी, एलईडी लाइटिङ प्याकेज, टर्क कन्ट्रोल र स्लिपर क्लच रहेका छन् ।

होन्डाको गुणस्तर
होन्डा ब्रान्डलाई विश्बभर चिनाएको सबैभन्दा महत्वपूर्ण फिचर्स हो यसको गुणस्तर । यो ब्रान्डको नाम लिने बित्तिकै गुणस्तर विशेष पहिचान बनेर आउने गरेको छ । जुन सीबी ३५० मा समेत लागू गरिएको छ । यो बाइकको बाहिरी बनावटबाटै यसको गुणस्तर प्रमाणित हुन्छ । साथै इन्जिनको गुणस्तरमा समेत कम्पनीले कुनै सम्झौता गरेको पाइदैन । गुणस्तरमा अब्बल भएका कारण यसको मेन्टिनेन्स खर्च क्लासिक ३५० को तुलनामा एकदमै न्यून पर्ने दाबी गरिएको छ ।

फोन केनक्टिभिटी
होन्डाले यो बाइकमा आधुनिक प्रविधि प्रयोग गरेको छ । बाइकको बोर्डमा जडान गरिएको होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टममा ब्लुटुथ कनेक्ट गरी नेभिगेसन र म्युजिक प्लेब्याक जस्ता फिचर्सलाई प्रयोग गर्न सकिन्छ । यस्तो फिचर्स क्लासिक ३५० मा उपलब्ध गराइएको छैन ।

पूर्णतः एलईडी लाइटिङ प्याकेज
बाइकको लाइटिङलाई प्रिमियम बनाउन होन्डाले यसमा पूर्णतः एलईडी लाइट प्रयोग गरेको छ । यो बाइकको हेडलाइट, टेललाइट र इन्डिकेटर सबैमा एलईडी लाइट प्रयोग गरेको हो । जवकी क्लासिक ३५० मा हेलोजन बल्व मात्र प्रयोग गरिएको छ ।

टर्क कन्ट्रोल
क्लासिक ३५० मा नभएको अर्को फिचर्स टर्क कन्ट्रोल समेत होन्डा सीबी ३५० मा थप भएको छ । यो बाइकमा सेग्मेन्टमै पहिलोपटक सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम उपलब्ध गराइएको छ । यस्तो सिस्टम प्रायः उच्च टर्क क्षमता भएका मोटरसाइकलमा प्रयोग हुँदै आइरहेकोमा होन्डाले भने जम्मा ३० एनएममात्र टर्क भएको सीबी ३५० यो फिचर्स थप गरेको हो ।

स्लिपर क्लच
रोयल इन्फिल्डले आफ्नो बढी सेग्मेन्टको बाइकमा समेत उपलब्ध नगराएको स्लिपर क्लचलाई होन्डाले भने सीबी ३५० मै उपलब्ध गराएको छ । स्लिपर क्लचका कारण क्लचले सजिलै काम गर्ने हुँदा बाइक कुदाउन सहज फिल हुन्छ ।

तपाईको प्रतिक्रिया