सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन्। खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेल हुने भएको हो ।

पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुने एन्फाले जनाएको छ। सातदोबाटोले पहिलो पटक ए लिग खेल्न लागेको हो। सातदोबाटो बी डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो। यस्तै, पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुनेछ।

मध्याह्न १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुनेछ।

यता, लिगको तेस्रो चरणपछिका खेल भने च्यासलस्थित टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रंगशालामा खेलाउने योजना रहेको लिग निर्देशक सञ्जिव मिश्रले बताए।

एन्फाले हाललाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ। त्यसपछि कसले कुन टोलीसँग खेल्ने पक्का भएपनि मिति भने पछि मात्र तोकिने छ। सिंगल राउन्डको लिग फागुन दोस्रो सातासम्म चल्नेछ। लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ। लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन्।

तपाईको प्रतिक्रिया