चरित्रमा विविधता पस्कन सक्ने अब्बल क्षमताका कलाकार हुन्, हरिवंश आचार्य । टेलिसिरियल होस् अथवा फिल्म, उनले डनदेखि पुलिससम्म र गरिबदेखि धनाड्यसम्मको भूमिका निभाइसकेका छन् । अभिनयको हिसाबले उनको सम्झनलायक फिल्म ‘बलिदान’ मानिन्छ । यो कोटीमा फिल्म ‘महापुरुष’ पनि थपिएको छ । यस फिल्ममा निभाएको चरित्रका कारण अहिले आचार्य चर्चामा छन् ।

प्रायः हरेक कलाकारलाई आफ्नो जीवनकालमा कुनै विश्व प्रख्यात व्यक्तिको भूमिका पर्दामा निर्वाह गर्ने ठूलो सपना हुन्छ । हरिवंश आचार्यको पनि केही सपना छ, तर पूरा हुन नसक्ने । उनले केही पुराना अन्तर्वार्तामा आफूलाई भगवान् गौतम बुद्ध र विश्वका क्रूर शासक हिटलरको रोल निभाउने इच्छा रहेको बताएका थिए । तर, यो सपना पूरा हुँदैन भन्नेमा निष्कर्षमा उनी पुगिसकेका छन् ।

शनिवार आफू अभिनीत फिल्म ‘महापुरुष’को ५१औं दिने सेलिब्रेसन कार्यक्रममा उनले भने, ‘बुद्धिज्मको फिलोसोफीअनुसार गौतम बुद्धलाई फिल्ममा नदेखाउनु भन्ने छ । त्यसैले त्यो सपना पूरा नहोला । हिटलरमाथि पनि अब फिल्म नबनाउँदा हुन्छ जस्तो लाग्छ । किनकि, हामीकहाँ अघोषित हिटलरहरु धेरै छन् । यहीँकै कुनै ठूलो मान्छेको गर्न पाइयो भने त्यो हिटलर बराबर भइहाल्छ नि ।’

उनले अहिलेसम्म आफूले ‘महापुरुष’बाट पारिश्रमिक नलिएको तर निर्माताले चित्त बुझ्ने गरी दिनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘अहिले फिल्मको पैसा उठ्दैछ । म तुरुन्तै पैसा दिनु भनेर पनि भन्दिनँ । तर, मलाई चित्त बुझ्ने गरी दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ स्रोतका अनुसार, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुनाफाको केही प्रतिशत शेयर लिने सर्तमा फिल्ममा काम गरेका हुन् ।

तपाईको प्रतिक्रिया