नेपाली कलाकारहरु प्रेम सम्बन्धको मामलामा छुपारुस्तम मानिन्छन् । प्रायः गुपचुप प्रेम रुचाउँछन् । करिअर संकटमा पर्ने डरले उनीहरु प्रेम सम्बन्ध खुलाउन चाहँदैनन् । अभिनेता आकाश श्रेष्ठ पनि यो मामलामा अगाडि छन् । अभिनेत्री पूजा शर्मासँग प्रेम सम्बन्ध रहँदा उनी कहिल्यै खुल्न चाहेनन् । बरु, ब्रेकअपपछि पूजाले घुमाउरो रुपमा आकाशसँगको प्रेम स्वीकार गरिरहेकी छन् ।

केही समययता आकाशको नाम अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँग जोडिएको सर्वविदित छ । कुनै बेला पूजाबाहेकसँग फिल्म र म्यूजिक भिडियोमा स्क्रिन शेयर नगर्ने आकाश आजभोली लगातार रुपमा करुणासँग म्यूजिक भिडियोमा सहकार्य गरिरहेका छन् । उनले आफूलाई अफर हुने प्रायः म्यूजिक भिडियोमा करुणालाई सिफारिस गर्ने गरेको समेत बजारमा गाइँगुइँ सुनिन थालेको छ ।

गएको एक वर्षमा उनीहरुले एक दर्जन बढी म्यूजिक भिडियोमा रोमान्स गरिसकेका छन् । जसले उनीहरु प्रेममा रहेको चर्चालाई बल पुर्‍याएको छ । तर, खुलेर काम गर्ने यो जोडी प्रेम सम्बन्ध भने लुकाउँदै हिँडेको छ । हुन त लुकिछिपी लगाएको माया मीठो हुन्छ भनिन्छ । यही मान्यतालाई दुवैले आत्मसात् गरेका हुन सक्छन् । तर, यो बुझ्न जरुरी छ कि माया जति लुकाए पनि लुक्दैन ।

यस वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘सम्झना विर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ असफल भएपछि आकाशले नयाँ फिल्म साइन गरेको जानकारीमा छैन । म्यूजिक भिडियोमा भने उनको डिमान्ड राम्रो छ । त्यस्तै, अरुणाले ‘सय कडा दस’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, डेब्यू फिल्म आए-गएको पत्तो नहुँदा उनले म्यूजिक भिडियोमा काम गरेरै चित्त बुझाइरहेकी छन् ।

तपाईको प्रतिक्रिया