काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत १७ गतेबाट अभिनेत्री शुभेच्क्षा खड्का दोस्रो सिनेमा ‘प्रेमा’ लिएर दर्शकमाझ आउँदैछिन् । गोविन्दसिंह भण्डारीको सिनेमा ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी शुभेच्क्षा गोविन्दकै निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् ।

शुभेच्क्षाको बुझाईमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन् । ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ । सिनेमा हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुपमा पाउँछन् । प्रेमा मिठो खालको कथा हो । सिनेमा कलरफूल र साधारण बनेको छ’, शुभेच्क्षा भन्छिन् ।

शुभेच्क्षाका अनुसार सिनेमा ‘प्रेमा’ उनकै भनाईमा दर्शकका लागि ‘सरप्राइज प्रेमकथा’ हो । ‘ट्रेलर रिलिज भएपछि आम मानिसमा सिनेमा प्रतिको जुन चासो छ, त्यो चासो नै सिनेमाको ‘सरप्राइजिङ’ कुरा हो । जुन कुरा कसैले सोचेको छैन’, उनी भन्छिन्, ‘त्यो सरप्राइजिङ फ्याक्टर देखेपछि दर्शकले कसरी रियाक्ट गर्नुहुन्छ भन्ने कुरामा उत्साहित छु ।’

वास्तविक जीवनमा शुभेच्क्षा सहरीया संस्कृतिमा हुर्किएकी हुन् । बोलिरहन मनपराउने उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन् । तर प्रेमा चरित्र उनीभन्दा फरक छ । ‘प्रेमा अलिक लजालु छे । सिनेमामा मलाई काम गर्न केही समय लाग्यो । किनकी पहिला त प्रेमाजस्ती देखिनका लागि लुक्समै फिट गराउन समय लाग्यो । एक दुई दिन त म राम्री देखिएँ या देखिइन भन्नेमा अन्योल थियो’, शुभेच्क्षा भन्छिन् ।

निर्देशक गोविन्द वास्तविक जीवनमा एक महिलाबाट प्रभावित भएर सिनेमाको कथा तयार पारेको बताउँछन् । ‘वास्तविक प्रेमाको चरित्रलाई लिएर सिनेमा बनाउन मन थियो । त्यो चरित्रलाई यसमा पुरा गरेको छु । सिनेमामा दर्शकले नयाँ शैलीको प्रेमकथा पाउनुहुनेछ’, गोविन्द भन्छन्, ‘प्रेमा साउथ सिनेमामा धेरै प्रयोग हुने शब्द हो । हामी नेपालमा ‘माया’ भनेजस्तै साउथमा प्रेमा बढी प्रयोग हुन्छ । प्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ ।’

सिनेमामा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेच्क्षा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन् । सिनेमा ‘ज्याकीः आइ एम ट्वान्टी वान’बाट अभिनयमा डेब्यू गरेका अरुणको सिनेमा ‘महापुरुष’ले रिलिज भएर पनि सफलताको स्वाद चाखिसकेको छ । ‘महापुरुष’ले सफलता पाए पनि आफूलाई कुनै दबाब अनुभव नभएको अरुण बताउँछन् ।

‘मलाई दबाब छैन किनभने सिनेमा राम्रो बन्न निर्देशक, स्क्रिप्ट र कलाकार राम्रो हुनुपर्छ । प्रेमामा दर्शकले सबै कुरा पाउँछन् । सिनेमाले राम्रो गर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’अरुण भन्छन्, ‘मुख्य कुरा दबाब लिने कि नलिने भन्ने हुन्छ । यो दबाब केका लागि लिने भन्ने हो । नराम्रो काम गरेको छु भने डर लाग्छ । राम्रो टिमसँग आबद्ध छु । त्यसकारण दबाब लिएको छैन ।’

सिनेमा गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्माता घिमिरे ‘प्रेमा’को स्क्रिप्ट मन परेर आफूले लगानी गरेको बताउँछन् । ‘मैले प्रेमामा राम्रो कथा पाएँ । पहिलोपटक स्क्रिप्ट पढ्दा म त दंग परेँ । मैले एक घण्टामा नै स्क्रिप्ट पढेँ । त्यसपछि ३,४ पटक पढेँ’, विवेक सुनाउँछन्,‘यो स्क्रिप्टमा हरेक दृश्यमा निर्देशकको डिटेलिङ शैली छ । त्यसले मलाई तान्यो ।’ उनले आफूले सिनेमामा स्क्रिप्टको ९९ प्रतिशत कुरा पाएको दाबी गरे ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । सिनेमामा सामर्थ विक्रम थापाको कार्यकारी निर्माण छ । सिनेमा तामिल, तेलुगु र हिन्दी भर्सनमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया