काठमाडौं । प्रिमियरबाट सन्तोषजनक प्रतिक्रिया प्राप्त गरेको नेपाली डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’को एड्भान्स टिकट बिक्री बुधबारदेखि सुरु भएको छ । नेपाली फिल्मको इतिहासमै पहिलोपटक नृत्यमार्फत कथा बुनिएको यो फिल्मलाई हेर्ने अतिथिले नयाँ अनुभव गरे ।

खासगरी हिपहप जनराको नृत्य कोरियोग्राफीमार्फत डान्समा सफल बन्न संघर्ष गर्ने नेपाली समाजको एक तन्नेरीको कथा यसले पेश गर्छ । १३ वर्षदेखि डान्स कोरियोग्राफीमा सक्रिय रेनशा राई राणा निर्देशित यो फिल्मलाई मल्टिप्लेक्सले सुखद शो प्रदान गरेका छन् ।

क्यूएफएक्सले धीरज मगर र जसिता गुरुङ स्टारर फिल्मलाई २६ शो उपलब्ध गराएको छ । आईएनआईले ६ शो, वान सिनेमाजले १३ शोज, बिग मुभिजले पाँच शो प्रदान गरेका छन् । खासगरी सहरकेन्द्रित मल्टिप्लेक्समा यो फिल्मको ओपनिङ सुखद हुन सक्ने प्रक्षेपण गरिएको छ । स्वभाविक रुपमा तन्नेरी दर्शकलाई फिल्मले आकर्षित गर्नेछ ।

प्रिमियरबाट सकारात्मक समीक्षा प्राप्त भएकाले विकडेजमा पनि फिल्मको कमाइ सन्तोषजनक हुनसक्ने देखिन्छ । पहिलो निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ हिट भएपछि निर्देशक रेनशासामु दोस्रो फिल्मलार्ई पनि हिट गराउनुपर्ने दबाब छ । अभिनेता मगरको लागि यो तेस्रो फिल्म हो । अघिल्लो फिल्म ‘बाबरी’ बक्स अफिसमा असफल भएपनि यो फिल्मले चाहिं आफूलाई सकारात्मक नतिजा दिने आशा अभिनेता मगरले राखेका छन् ।

फिल्म हेर्दा पनि हिपहप नृत्यमा धीरजको मेहनत र अभिनय स्पष्ट देखिन्छ । फिल्मको शीर्ष पात्र ज्याकी लिम्बूको भूमिकामा उनले अभिनय गरेका छन् । उनको अपोजिटमा रुबी पात्रको चरित्रमा जसिता देखिएकी छन् । लाहुरे बन्न घरबाट आउने दबाबविरुद्ध डान्सर बन्ने सपना बोकेको शीर्ष चरित्रले दर्शकलाई ‘इन्गेज’ तुल्याउँछ ।

यदि ‘ज्याकी : आई एम ट्वान्टी वान’ सफल रहे दोस्रो श्रृंखला निर्माण गर्ने निर्देशक रेनशाले बताइन् ।

तपाईको प्रतिक्रिया