मिस युनिभर्स २०२३ सम्पन्न भएको छ । ७२ औं मिस युनिभर्समा निकारागुवाकी सेइनिस पालाथिओस विजयी भएकी छन् । थाइल्याण्डकी अनटोनिया पोरसिल्ड उपविजेता र अष्ट्रेलियाकी मोराया विल्सनले तेस्रो स्थान हासिल गरेकी छन् ।

नेपालबाट मिस युनिभर्समा भाग लिएकी जेन दिपिका ग्यारेट टप २० बाट बाहिरिएकी छन् । प्रतियोगितामा सहभागी ८४ जना सुन्दरीमध्ये जेन मात्रै प्लस साइज (मोटी) की हुन् ।

सामान्यतयाः महिला त्यसमा पनि सुन्दरी प्रतियोगितामा भाग लिनेहरुबीच जिरो फिगरको मान्यता व्याप्त छ । पातलो शरीरलाई सुन्दरीको मापन गर्दै आइएको सन्दर्भमा जेनको सहभागितालाई धेरैले आश्चर्य मानेका थिए ।

तर, उनी २० जनाभन्दा पछाडि मात्रै परेकी छन् । उनको सहभागिता र प्रस्तुतीले सुन्दरी प्रतियोगितामा प्लस साइजका शरीर भएका महिलाले पनि भाग लिन सक्ने मान्यतालाई स्थापित गरिदिएको छ । यसबाट उनीजस्ता दशौं लाख युवतीलाई आफ्नो भद्दा शरीर पनि सुन्दरीको भीडमा प्रतिस्पर्धी बन्न सक्ने सन्देश गएको छ ।

यस पटकको प्रतियोगितामा विजेता, उपविजेतासँगै नेपालको प्रतिनिधित्व गरेकी जेनलाई सामाजिक सञ्जाल र विश्वका सञ्चार माध्यमले निकै महत्वका साथ स्थान दिएका छन् । सुन्दरी प्रतियोगितामा सहभागी हुनेको पातलो शरीर र छिनेको कम्मर हुनैपर्ने परम्परागत मान्यतालाई २२ वर्षीया नेपाली युवतीले दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरमा पुगेर त्यस्तो शरीरको आवश्यकता नरहेको भन्ने गतिलो ‘सन्देश’ दिएकी छन् ।

तपाईको प्रतिक्रिया