काठमाडौं । डेढ महिना लामो युद्ध अस्थायी रुपमा रोक्दै एकअर्काले बन्धक बनाएकाहरुलाई रिहा गर्न इजरायल र हमासबीच सहमति भएको छ ।

इजरायल र हमासबीच वार्ताका लागि मध्यस्थता गरिरहेको कतारले आगामी २४ घण्टाभित्र युद्ध विरामको घोषणा हुने जानकारी दिएको छ । साथै यो युद्ध विराम थप लम्बिन सक्ने पनि कतारले जनाएको छ ।

इजरायल र कतारबीचको सहमतिअनुसार हमासले बन्दी बनाएकामध्ये पहिलो चरणमा ५० इजरायली बन्धक रिहा हुने भएका छन् । जसमा बन्धक बनाइएका महिला तथा बालबालिकालाई छाडिने छ । बन्धक रिहाइका लागि इजरायलले चार दिन अस्थायी रुपमा युद्ध रोक्ने छ । गत अक्टोबर ७ मा आक्रमणपछि हमास समूहले नेपालका विपिन जोशीसहित करिब २ सय ४० जनालाई बन्धक बनाएको छ ।

बन्दी बनाइएकाहरुलाई रिहा गर्ने र युद्ध विराम गर्ने सहमति भएपनि यो कहिलेदेखि लागु हुनेछ भन्नेबारे अझै खुलाइएको छैन ।

यसका साथै सहमतिमा थप १० बन्धकलाई रिहा गरेबापत थप एक दिन अतिरिक्त युद्ध विराम हुने भनिएको छ ।

यता हमासले पनि सहमतिबारे आफ्नो वक्तव्य जारी गर्दै ५० इजरायली बन्धकलाई रिहा गरेबापत इजरायली जेलमा रहेका एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई छाडिने छ ।

यो सहमतिअनुसार मानवीय सहायता, आवश्यक औषधि र इन्धन बोकेका सयौँ ट्रकले गाजा प्रवेश गर्न पाउनेछन् । हमासले युद्ध विरामको चार दिन इजरायलले कुनै पनि किसिमको आक्रमण तथा कसैलाई पनि गिरफ्तार गर्ने छैन ।

इजरायल–हमासबीचको वार्तामा कतारसँगै मध्यस्थताको भूमिका निर्वाह गरेको अमेरिकाले पनि सहमतिप्रति खुशी व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सहमतिबाट अत्यन्तै सन्तुष्ट रहेको बताएका छन् । हप्तौँसम्म बन्धक बनेकाहरु आफ्नो परिवारसँग भेट हुन पाउने भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया