काठमाण्डौ – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र त्यस बापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ ।

सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा ३३ किलो सुन तस्करी भएको र भुक्तानी डलर तथा क्रिप्टोकरेन्सीमार्फत भएको पुष्टि भएको जानकारी गराएको हो ।

सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।

तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडीटी भुक्तानी गरेको देखिएको छ । यसको नेपाली कारोबार मूल्य झण्डै तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । यो प्रकरणमा १५ जना पक्राउ परेका छन् । १२ जना फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया