मोरङ कारागारमा एक कैदीको मुत्यु भएको छ । अनौठो संयोगको रुपमा उनको कैद भुक्तान सकिने दिनमा नै उनको मृत्यु भएको बताइएको छ ।
लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्ति अचानक पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कारागार प्रशासनले कोशी अस्पतालमा भर्ना गरेको थियो । तर उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
जिल्ला अदालत मोरङले लेनदेन ठगी मुद्दामा २०७८ मंसिर २० गते उनलाई १० महिना २२ दिनको कैद सजायको फैसला सुनाएको थियो । सोही अनुसार उनको कैद भुक्तान पनि आजै सकिँदै थियो।
मृतकका आफन्तले भने आफूहरूलाई घटनाबारे समयमै जानकारी नदिएको र उपचारमा लापरबाही भएको जनाउँदै कोशी अस्पतालमा नाराबाजी गरेका छन् । आफन्तहरूको नाराबाजीले अस्पताल परिसर तनावग्रस्त बनेको छ ।