पथरी । मोरङको कानेपोखरी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको बेकरी तालिममा धरौटी रकम नराख्न माग गर्दै निवेदकहरुले ज्ञापन पत्र बुझाएका छन् ।

तालिममा सहभागिताको लागि निवेदन दिएका महेश चापागाई, रविन साह, सौरभ दाहालको नेतृत्वको टिमले तालिम लिनको लागि धरौटी माग नर्गन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । उनीहरुले वडा नं. २ का वडा अध्यक्ष सुशिल बुढाथोकीलाई फागुन १८ गते ज्ञापन पत्र बुझाएका थिए ।

वडाको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत एक महिने बेकरी तालिममा सहभागि हुन वडा कार्यालयले ३ हजार रकम वडालाई बुझाउनु पर्ने माग सूचना गरेका छन् । फागुन १३ गते वडा कार्यालयबाट प्रकाशित सूचनामा ३ हजार रकम धरौटी अनिर्वाय बुझाए मात्र तालिममा सहभागि हुन पाउने नत्र तालिममा सहभागि हुन नपाउने जनाएका थिए । त्यस्तै अघिल्लो आर्थिक बर्षमा वडाबाट तालिम लिएकाहरुले यस पटक नपाउने पनि सूचना गरिएको छ ।

प्रथम पटक माघ ४ गते वडाबाट प्रकाशित सूचनामा भने धरौटी माग गरेको छैन । माघ ४ गतेबाट १५ गते भित्र निवेदन बुझाउने सूचनामा ७२ जना वडाबासीले तालिमको लागि निवेदन दिएका थिए ।

त्यस्तै दोस्रो फागुन १३ गते प्रकाशित सूचनामा ३ हजार धरौटी अनिर्वाय बुझाउनु पर्ने भएपछि अहिले बेकरी तालिमको लागि ५ जनाले मात्र धरौटी बुझाएको वडा कार्यालयले जानकारी दिएको छ । आर्थिक रुपमा कम्जोर भएका व्यक्तिहरुले पनि तालिम लिन पाउनु पर्ने माग गरेका छन् ।

वडा अध्यक्ष सुशिल बुढाथोकीले आर्थिक अवस्था कम्जोर भएका व्यक्तिहरुले धरौटी रकम बुझाउनु नपर्ने बताएका छन् । एक महिनासम्म हुने बेकरी तालिम २५ जनाको कोटा रहेको छ ।

तपाईको प्रतिक्रिया